काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले सम्पूर्ण ओलम्पियन खेलाडीको कोरोना बिमा गर्ने भएको छ ।
एनओसीको शनिबार बसेको बैठकले नेपालका सम्पूर्ण ओलम्पियन खेलाडीको कोरोना बिमा गर्ने निर्णय गरेको हो ।
भिडियो अनलाईनको सहायताबाट बसेको बैठकले ओलम्पियनसँगै ओलम्पिकको तयारी गरिरहेका खेलाडी र प्रशिक्षक, एनओसीका सदस्य तथा कर्मचारीको समेत कोरोना बिमा गर्ने निर्णय गरेको छ ।
एनओसीले कोरोना संक्रमित महासचिब निलेन्द्र राज श्रेष्ठसहित अन्य ४ कर्मचारी कोरोना मुक्त भएको समेत जनाएको छ । यस्तै कोरोना संक्रमित ओलम्पियन जित बहादुर केसीलाई स्वास्थ्यलाभको कामना गरेको छ ।
बैठकले एनओसीको मेडिकल कमिसनका अध्यक्ष डा. सरोज कृष्ण श्रेष्ठलाई संघको कार्यालय संचालनका लागि नयाँ सुरक्षा प्रोटोकल तयार गर्न निर्देशन समेत दिएको छ ।