काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले खेलकुद प्रशिक्षण तत्काल सुरु गर्न सरकारलाई सुझाएका छन् ।
कोरोना कहरकै बीच छिमेकी देशहरुले खेलकुद गतिविधि अघि बढाएको उल्लेख गर्दै एन्फा अध्यक्ष शेर्पाले अन्तराष्ट्रिय मापदण्ड अनुसार खेलकुद प्रशिक्षण सुरु गर्नुपर्ने बताएका हुन् ।
‘लकडाउनको बेला खेल प्रशिक्षण सुरु गर्यौ भने कोरोनाबिरुद्ध रोग प्रतिरोधात्मक क्षमता समेत बढ्छ । सरकारले आधिकारिक रुपमा खेलकुद प्रशिक्षण सुरु गरेको खण्डमा लकडाउन खुल्ने बित्तिकै प्रतियोगिता सुरु गर्न समेत सहज हुन्छ ।’ खेलपाटीसंग कुराकानी गर्दै शेर्पाले भने ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफा र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को मापदण्ड अनुसार अन्य देशमा खेलकुद प्रशिक्षण सुरु भईसकेको बताउँदै शेर्पाले प्रशिक्षण सुरु भएको अवस्थामा युवा तथा सिनियर खेलाडीलाई हौसला मिल्ने बताए ।
‘धेरै देशमा फिफा र डब्लूएचओको मापदण्ड अनुसार अभ्यास सुरु भईसकेको छ । प्रशिक्षण सुरु भएमा युवा तथा सिनियर खेलाडीको हौसला बढ्थ्यो ।’ उनले भने, ‘प्रशिक्षण सुरु भएको खण्डमा मानसिक रुपमा बलियो हुने अवस्था बन्थ्यो ।’
सरकारले भदौ १ गतेबाट अन्तराष्ट्रिय खेलकुद स्पर्धाको तयारीका लागि प्रशिक्षण खूल्ला गर्ने निर्णय गरेको थियो । सोही अनुसार एन्फा, क्रिकेट संघ (क्यान) लगायतका खेलकुद संघले प्रशिक्षण सूरु गर्ने तयारी समेत थालेका थिए ।
फुटबल संघले भदौ १ गतेबाट राष्ट्रिय टिमको बन्द प्रशिक्षणको तयारी अन्तिम चरणमा पुर्याएको थियो । कोरोना संक्रमणको दर बढ्ेसंगै सरकारले लगाएको निषेधाज्ञाका कारण खेलकुद संघहरुले प्रशिक्षणको कार्यक्रम अनिश्चित समयका लागि बन्द गर्ने निर्णयमा पुगेका थिए ।
एन्फा अध्यक्ष शेर्पाले तत्काल खेलकुद प्रशिक्षण सुरु भएको अवस्थामा लकडाउन खुल्ने बित्तिकै प्रतियोगिता अघि बढाउन सहयोग मिल्ने धारणा राखे ।
‘प्रशिक्षण नियमित सञ्चालन गर्न सकेको अवस्थामा लकडाउन खुल्ले बित्तिकै विना दर्शक प्रतियोगिता सुरु गर्न सकिन्छ । बिना दर्शकको अन्तराष्ट्रिय स्तरको मैत्रीपूर्ण खेल गराउन सकिन्छ ।’ शेर्पाले भने, ‘खेल वातावरण सिर्जना गरेमा युवा, बालबालिका सबैलाई मनोबैज्ञानिक रुपमा बलियो बनाउने काम हुन्छ । समाजमा सकारात्मक सोचको विकास हुन्छ ।’
उपत्यकामा कोरोना संक्रमण बढेसंगै सरकारले तीन जिल्लामा भदौ ४ गतेदेखि लागू हुने गरि निषेधाज्ञा जारी गरेको थियो । सरकारले निषेधाज्ञा जारी गरेसंगै मुर्झाउन लागेको खेलकुद प्रशिक्षण पूर्ण रुपमा बन्द अवस्थामा छ । कोरोनाको संक्रमण बढेसंगै खेलकुद गतिविधि अघि बढाउने बिषयमा युवा तथा खेलुकद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्यौलमा देखिएका छन् ।
एन्फा अध्यक्ष शेर्पाले सरकारले आधिकारिक रुपमै खेलकुद प्रशिक्षणका लागि अनुमती प्रदान गरेर अघि बढ्नुपर्ने धारणा राखे ।
‘सरकारले समय निर्धारण गरेरै प्रशिक्षणलाई खुल्ला गर्न सक्छ । खेलकुद एकैचोटी सुरु गर्छु भन्ने हुदैन । विस्तारै गतिविधि र स्तर बढाउँदै लैजानुपर्छ ।’ उनले भने, ‘खेल गतिविधि अघि बढाउन सकेको खण्डमा कोरोनाकै दौरान सकारात्मक काम देखिन्छ ।’