काठमाडौं । इन्डोनेसियामा जारी एसियन गेम्स अन्तर्गत जुडोमा नेपालको चुनौती सकिएको छ ।
शुक्रबार नेपालका तीन खेलाडीको स्पर्धा सकिएसंगै जुडोमा नेपालको चुनौती सकिएको हो । शुक्रबार नेपालका पुनम श्रेष्ठ, श्रीराम मकाजु र रविन श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए ।
महिला ७८ केजी मुनिको तौल समूहमा नेपालकी पुनम श्रेष्ठले दुवै खेलमा पराजित भईन् ।
पुनम क्वाटरफाइनलमा दक्षिण कोरियाकी पार्क युजिनसंग इपोनको आधारमा पराजित भएकी थिइन् । रिपाचे खेलमा पुनम उज्वेकिस्तानकी जरिना राइफोभासंग इपोनको आधारमा नै पराजित भईन् ।
पुरुष १०० केजी तौल समूहमा रविन श्रेष्ठ उज्वेकिस्तानका जुराएभ शेरालीसंग इपोनको आधारमा पराजित भए । यस्तै पुरुष ९० केजी मुनिको स्पर्धामा श्रीराम ताजिकिस्तानका खेलाडीसंग पराजित भए ।
यसअघि नेपालका ओलम्पियन फुपुल्हामु खत्री, मनिता श्रेष्ठ प्रधान, संजित डंगोल, ईन्द्रबहादुर श्रेष्ठ र देविका खड्का पराजित भएका थिए ।
जुडोबाट नेपालका ८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।