एजेन्सी । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम जमैका तलाबाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (मंगलबार) सातौं खेल खेल्दैछ ।
ट्रीनिडाड एन्ड टोबेगोमा जारी सीपीएल अन्तर्गत जमैकाले सातौं खेलमा लिग लिडर ट्रिनबागो नाइट राइडर्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । जमैका र नाइट राइडर्सबीचको खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजे सुरु हुनेछ ।
ब्रायन लारा स्टेडियममा नाइट राइडर्सविरुद्ध मैदान उत्रदा जमैका चौंथो जितको खोजीमा हुनेछ । तर, अपराजित नाइट राइडर्सविरुद्ध जित निकाल्न जमैकालाई कठिन भने हुनेछ ।
नाइट राइडर्स भने जमैकालाई हराएर लगातार सातौं जित निकाल्ने योजनामा हुनेछ ।
यस अघिको भेटमा जमैकालाई नाइट राइडर्सले ७ विकेटले हराएको थियो । नाइट राइडर्स त्यो जितलाई कायम राख्न चाहन्छ । जमैका भने हारको बदला लिने योजनामा हुनेछ ।
जमैका ६ खेलमा ६ अंक जोडेर तालिकाको चौंथो स्थानमा रहेको छ । नाइट राइडर्स ६ खेलमा १२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
सन्दीप नाइट राइडर्सविरुद्धको खेलमा समेत प्लेईङ सेटमा पर्ने सम्भावना रहेको छ ।
नेपाली लेग स्पिनर सन्दीप लामिछाने यस सिजन निकै उत्कृष्ट बलिङ गर्दै आएका छन् । सन्दीप ६ खेलमा ९ विकेट लिन सफल भईसकेका छन् ।