आर्थिक रूपमा सबल नभएको हाइटी विश्वकपमा

काठमाडौं। आर्थिक रूपमा सबल नभएको, राजनीतिक अस्थिरता र प्राकृतिक प्रकोपले पटक–पटक क्षतविक्षत बनाइरहने क्यारिबियन मुलुक हाइटीले ५१ वर्षअघि हराएको इतिहास पुनः दोहोर्याएको छ।
अभाव, संघर्ष र निराशाले भरिएको दैनिकीबीच पनि फुटबलप्रतिको अथाह श्रद्धाले हाइटीलाई विश्वकपसम्म तान्दै ल्याइपुर्याएको छ। यही कथाले आज विश्वभरका समर्थकहरूलाई रोमाञ्चित बनाइरहेको छ।
निकारागुवाविरुद्धको निर्णायक खेलमा २–० गोल अन्तरले जित निकाल्दै हाइटीले विश्वकपको मुख्य चरणमा स्थान पक्का गर्यो। आर्थिक रूपमा धेरै सबल नभए पनि फुटबलप्रति एकाग्रता र लगनले देशलाई विश्वमञ्चसम्म पुर्याएको हाइटीबासीहरू बताउँछन्।
इन्टर मियामीका हाइटीयाली मूलका खेलाडी फाफा पिकाउल्टले यस उपलब्धिलाई अभिव्यक्त गर्दै भने,'खुसी शब्दमा बयान गर्न सक्दिनँ। धेरै वर्षदेखि विश्वकपमा पुग्न सकिरहेको थिएनौं। यो हाम्रो देश तथा परिवारका लागि गर्वको विषय हो। मेरा हजुरबुबाले देशका लागि फुटबल खेल्नुभएको थियो। आज हामीले त्यो सपना साकार गरेका छौं। अब ध्यान विश्वकपमा राम्रो प्रदर्शन कसरी गर्ने भन्नेमा छ।'
हाइटीले ५१ वर्षपछि दोस्रोपटक विश्वकपमा स्थान बनाएको हो। यसले नयाँ पुस्तालाई ठूलो प्रेरणा दिएको समर्थकहरू बताउँछन्। फुटबलमा भविष्य खोजिरहेका युवा यो सफलताले अझ उत्साहित भएको देखिन्छ।
यस्तै खुशी छ छिमेकी देश पानामासमेत। एल साल्भाडोरलाई हराउँदै पानामाले पनि २०२६ को विश्वकपका लागि टिकट कटायो। टिकट पक्का भएपछि राजधानी पानामा सिटीमा समर्थकहरू सडकमा निस्किएर नाचगानसहित राष्ट्रिय टोलीको सफल यात्रालाई मनाए।
पानामाली समर्थकहरूको अपेक्षा विश्वकपको मुख्य चरणमा पनि टोलीले उत्कृष्ट प्रदर्शन गर्दै अर्को इतिहास रच्नेछ।










%20(1)-1763645320295.jpeg&w=3840&q=75)

