एजेन्सी । घरेलु टिम इंग्ल्यान्ड र पाकिस्तानबीचको दोस्रो टी-ट्वान्टी खेल आज (आइतबार) हुँदैछ ।
म्यानचेस्टरमा हुने दुई टिमबीचको खेल नेपाली समय अनुसार साँझ ७ बजे सुरु हुनेछ ।
ओल्ड ट्राफोर्डमा मैदान उत्रदा दुबै टिम जित निकाल्ने लक्ष्यमा हुने छन् ।
दुबै टिम तीन खेलको सिरिजमा १-० को अग्रता बनाउँन चाहन्छ ।
तर, दुबै टिमलाई खराब मौसमको डर रहेको छ । किनकि पहिलो खेल वर्षाको कारण वासआउट भएको थियो ।
इंग्ल्यान्डले ब्याटिङ गरिरहदा पहिलो खेल वर्षाले प्रभावित गरेको थियो ।
खेल रोकिनु अघि इंग्ल्यान्डले १६ ओभर १ बलमा ६ विकेट गुमाएर १ सय ३१ रन जोडेको थियो ।
इंग्ल्यान्डका टम ब्यान्टनले ४२ बलमा ७१ रन बनाए । उनी टी-ट्वान्टीमा इंग्ल्यान्डका लागि अर्धशतक बनाउने सबैभन्दा कान्छा खेलाडी बने ।
यस्तै डाविड मालनले २३ तथा कप्तान इयान मोर्गनले १४ रन बनाएका थिए ।
पाकिस्तानका इमाद वासिम र शादब खानले २/२ विकेट लिएका थिए ।
तीन खेलको सिरिज अन्तर्गतको तेस्रो खेल सेप्टेम्बर १ मा हुनेछ ।
पाकिस्तानपछि इंग्ल्यान्डले अष्ट्रेलियासँग एकदिवसीय र टी-ट्वान्टी सिरिज खेल्नेछ ।