एजेन्सी । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले बेङ्गलोरको शिक्षा टेक्नोलोजी फर्म ‘अनएकेडमी’लाई इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)को आधिकारिक साझेदार बनाउने घोषणा गरेको छ ।
बीसीसीआईले अनएकेडमीलाई तीन सिजनकालागि अफिसियल पार्टनरको रुपमा आईपीएलसंग जोड्ने घोषणा गरेको हो ।
आइपीएलको १३ औं संस्करण संयुक्त अरब इमिरेट्स (यूएई)मा सेप्टेम्बर १० देखि नोभेम्बर १० सम्म खेलिनेछ ।
‘हामीले अनएकेडमीलाई आईपीएल २०२० देखि २२ सम्म आधिकारिक साझेदारको रुपमा नियुक्त गर्न पाउँदा धेरै खुसी छौ ।’ आइपीएलका अध्यक्ष ब्रजेश पटेलले जारी गरेका बिज्ञप्तीमा भनिएको छ ।
‘आईपीएल भारतमा धेरै हेरिने लिग हो । हामीलाई लाग्छ, स्वदेशी भारतीय शिक्षा कम्पनीको रुपमा अनएकेडमी दर्शकसमक्ष धेरै सकारात्मक प्रभाव छाड्नेछ । बिशेष गरि लाखौं भारतीय युवाहरु जो आफ्नो करियर बनाउन चाहन्छन् ।’ उनले भने ।
अनएकेडमीले आईपीएलको मुख्य प्रायोजकको रुपमा समेत दाबी प्रस्तुत गरेको थियो ।
बीसीसीआईले फेन्टासी गेमिङ प्लेटफर्म ड्रिम ११ लाई यस बर्षको आईपीएलको मुख्य प्रायोजकको रुपमा छनोट गरेको थियो ।
चीनको स्मार्ट फोन कम्पनी भिभोलाई बाहिर राख्दै बीसीसीआईले मुख्य प्रायोजकको रुपमा ड्रिम ११ लाई छनोट गरेको हो ।