चन्द्रकलामाथिको कुटपिटमा राखेपको गम्भीर ध्यानाकर्षण

काठमाडौं । एथ्लेटिक्सकी कीर्तिमानी खेलाडी चन्द्रकला लामगादेमाथि भएको जातिय विभेद सहितको कुटपिटमा राष्ट्रिय खेलकुद परिषद्ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
परिषद्का उपाध्यक्ष शिव कोईरालो बिहिबार बिज्ञप्ती जारी गर्दै राष्ट्रिय कीर्तिमानी खेलाडीमाथि दलित भएको आधारमा निर्धात कुटपिट भएको बिषयमा परिषद्को गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
उनले चन्द्रकलामाथि भएको जघन्य एवं मानवता विरोधी कार्यले प्रचलित संविधान कानुन एवं कानुनी राज्यलाईनै चुनौती दिन खोजेको बताएका छन् ।
‘संविधानले दिएको नागरिक हक अधिकार एवं राज्यलाई समेत चुनौती दिने गरि भएको सो पाशविक एवं अमानविय घटनाको दोषीमाथि प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाही गर्न राज्यका सम्बद्ध निकायको गम्भीर ध्यानाकर्षंण गराउन चाहन्छु ।’ कोईरालाद्धारा जारी बिज्ञप्तीमा भनिएको छ ।
उनले पिडित खेलाडीको सिंघ्र स्वास्थ्य लाभको काम गर्दै आवश्यक सहयोग परिषद्बाट गर्ने प्रतिबद्धता जनाएका छन् ।
सोमबार राति झापाको मेचिनगर चारआलीमा दलित युवकलाई कुटपिटबाट जोगाउने क्रममा स्थानीय दुर्गा श्रेष्ठ र उनकी श्रीमती विष्णुले जातिय विभेद सहित गाली गलौज गर्दै चन्द्रकला र उनका श्रीमानमाथि आक्रमण गरेका थिए ।
चन्द्रकलामाथि भएको आक्रमणको नेपाल एथ्लेटिक्स संघ र नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले बिज्ञप्ती जारी गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।