काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारण सभा अनिश्चितकालका लागि स्थगित भएको छ ।
क्यानले मंगलबार एक विज्ञप्ति निकाल्दै भदौमा तय भएको साधारण सभा स्थगित गरिएको जनाएको छ ।
कोरोना भाईरसको महामारीलाई मध्यनजर गर्दै साधारण सभा अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरिएको क्यानले जनाएको छ ।
क्यानले यस अघि भदौ १५ भित्र साधारण सभा गर्ने जनाएको थियो ।
गत साउन ५ गते बसेको क्यानको कार्यसम्पादन कमिटिको बैठकले मध्ये भदौ भित्र साधारणसभा सक्ने निर्णय गरेको थियो ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट निलम्बन फुकुवा भएपछि क्यानले भदौमा पहिलो साधारण सभा गर्ने तयारी गरेको थियो ।
आईसीसीको रोहबरमा नयाँ नेतृत्व आएपछि गत असोजमा क्यानको निलम्बन फुकुवा भएको थियो ।
तर, सरकारले कोरोना संक्रमण रोकथाम तथा जोखिम न्यूनीकरण गर्न भन्दै गत बुधबार रातिबाट उपत्यकाको तीन जिल्लामा भदौ १० सम्म निषेधाज्ञा लगाएको छ ।
सरकारले निषेधाज्ञा लगाएसँगै कुनै पनि सभा, सम्मेलन गर्न पाईने छैन । जसको कारण क्यानको साधारण सभा स्थगित भएको हो ।
यस्तै राष्ट्रिय खेलकुद परिषद (राखेप) ले खेलकुद गतिविधि अनिश्चितकालका लागि स्थगित गरिसकेको छ।