काठमाडौं । विभागीय टोली शसस्त्र प्रहरी बल एपीएफ क्लबका ४ भलिबल पुरुष खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
एपीएफ स्रोतले खेलपाटीलाई बताए अनुसार संक्रमित चारै जना सेट टिमका खेलाडी हुन् ।
संक्रमित खेलाडीको अहिलेको अवस्था सामान्य रहेको छ ।
‘संक्रमित मध्ये ४ खेलाडी भलिबलका रहेका छन् । उनीहरुको अवस्था सामान्य छ ।’ स्रोतले भन्यो ।
संक्रमित ४ खेलाडीले भने हालसम्म राष्ट्रिय टिमबाट डेब्यु गर्ने अवसर पाएका छैनन् ।
यसअघि विभागले लकडाउनको समयमा खेलाडीलाई समेत सिमाको सुरक्षार्थ ड्युटीमा खटाएको थियो । संक्रमित ४ भलिबल खेलाडी सहित ८० खेलाडीलाई विभागले सिमा सुरक्षार्थ सर्लाहीको सिमा क्षेत्रमा खटाएको हो ।
करिब ४ महिना ड्युटीमा रहेका खेलाडी सहितको टिम सोही स्थानको क्वारेन्टिनमा बसेर उपत्यका प्रवेश गरेको हो ।
उपत्यका समेत खेलाडीलाई दुई स्थानमा क्वारेन्टिनमा राखिएको थियो । भक्तपुर दुवाकोट र काठमाडौंको चोभारमा खेलाडी सहित रेफ्री र प्रशिक्षकलाई क्वारेन्टिनमा राखिएको एपीएफका एक अधिकारीले खेलपाटीलाई बताए ।
भदौ २ गते खेलाडीको स्वाब संकलन गरिएको थियो । परिक्षण गरिएका ८० जनाको भदौ ५ गते रिपोर्ट आको थियो । सबैको रिपोर्ट तीन फरक दिनमा आएको थियो । जसमा अन्तिम दिनमात्रै २९ जनाको रिपोर्ट एकै दिन पोजिटिभ देखिएको थियो । यसअघि अघिल्ला दुई दिनमा ७ जनाको रिपोर्ट आएको थियो ।
एपीएफका एक अधिकारीका अनुसार ८० जनामा गरिएको परिक्षणमा ३६ जना खेलाडीको नतिजा पोजिटिभ आएको छ । संक्रमित खेलाडीलाई एकान्तबासमा पठाईएको छ भने बाँकी नेगेटिभ आएकालाई पुनः क्वारेन्टिनमा राखिएको छ ।
संक्रमित मध्ये ४ जना भलिबलका खेलाडी र अन्य २ जना ए डिभिजन लिग खेल्ने फुटबलर रहेका पुष्टि भएकाे छ ।