काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त बोर्ड सदस्यको शपथको तयारी गरिएको छ ।
मनोनय भएको लामो समय बितिसक्दा समेत राखेपका बोर्ड सदस्यहरुको शपथ हुन सकेको छैन ।
मन्त्रीपरिषद्बाट ९ जना मनोनित भएपछि सबै सदस्यको संयुक्त रुपमा शपथ गराउने तयारी मन्त्रालयको रहेको थियो ।
परिषद्को गतिविधि सञ्चालनमा केही सदस्य आवश्यक रहेको भन्दै भोलि (सोमबार) सदस्यको शपथको तयारी गरिएको हो ।
‘भोलि दिउँसो बोर्ड सदस्यको शपथको गराउने तयारी रहेको छ ।’ परिषद् स्रोतले खेलापटीसंग भन्यो ।
मन्त्रीपरिषद्बाट मनोनित हुने सदस्यहरु आउन केही समय लाग्ने भएकाले उपलब्ध सदस्यको तत्काल शपथको तयारी गरिएको हो ।
मनोनयनमा परेका सदस्यहरुले युवा तथा खेलकुद मन्त्रालयबाट मनोनयनको पत्र समेत बुझिसकेका छन् ।
मन्त्रालयका सचिव रामप्रसाद थपलियाले मनोनित सदस्यलाई पत्र हस्तान्तरण गरेका थिए ।
सोमबार मन्त्रालयमा औपचारिक कार्यक्रमको आयोजना गरेर सदस्यको शपथ गराउने तयारी गरिएको राखेप स्रोतले जानकारी दिएको छ ।
युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले गत साउन १५ गते राखेपको बोर्ड सदस्यमा रिम रानाभाट, ईन्दिरा निरौला, अर्जुन केसी, सम्पन्न श्रेष्ठ र सुवास श्रेष्ठलाई मनोनयन गर्ने निर्णय गरेका थिए ।