काठमाडौं । नेपाल तेक्वान्दो संघले राष्ट्रिय टिमका खेलाडीको कोरोना बीमा गर्ने भएको छ ।
संघले आइतबार एक विज्ञप्ति निकाल्दै खेलाडीको बीमा गर्ने जनाएको छ । संघले बीमा गर्नका लागि खेलाडीलाई आफ्नो विवरण पठाउन समेत अनुरोध गरेको छ ।
यस्तै संघको सचिवालय जोड बिजोड मिति अनुसार मात्र खुल्ने भएको छ ।
संघले भदौ १ गतेबाट १५ गतेसम्म संघ अन्तर्गत रहेको सचिवालयहरु जोड बिजोड मिति अनुसार खुल्ने जनाएको छ ।
कोरोना भाईरसको महामारीलाई मध्ये नजर गर्दै सातदोबाटोस्थित संघको केन्द्रीय कार्यालयको सेवाहरु जोड बिजोड प्रणाली संचालन गर्ने निर्णय गरेको संघले जनाएको छ ।
संघले जोड मितिमा कार्यक्रम शाखा, अन्तर्राष्ट्रिय शाखा र लेखा शाखा खुल्ने जनाएको छ ।
यस्तै बिजोड मितिमा ग्रेडिङ शाखा, आन्तरिक व्यवस्थापन शाखा र समन्वय शाखा खुल्ने जनाएको छ ।
संघले केन्द्रीय कार्यालयमा सबैको लागि प्रवेश निषेध गरिएको समेत जनाएको छ । प्रवेश निषेध गरिएको कारण सचिवालयको सबै कार्यहरु टेलिफोन र इमेलको माध्यमबाट लिन समेत संघले अनुरोध गरेको छ ।
त्यस्तै संघले तेक्वान्दो निर्णायकहरुको नवीकरण गर्ने मिति भदौ १४ गतेसम्म थप गरिएको समेत जनाएको छ । तर, नवीकरणको सेवा अनलाईन वा मोबाइल बैकिङ सेवाबाट गर्न संघले अनुरोध गरेको छ ।