काठमाडौं । इन्डोनेसियामा जारी एसियन गेम्स अन्तर्गत जुडोमा नेपालकी ओलम्पियन फुपुल्हामु खत्री पहिलो खेलमै पराजित भएकी छिन् ।
बिहिबार भएको महिला ६३ केजी मुनि तौल समूहको राउण्ड अफ सिक्स्टिनको खेलमा फुपु इन्डोनेसियाकी खेलाडीसंग पराजित भईन् ।
दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण विजेता फुपु इन्डोनेसियाको खेलाडीसंग धेरै बेर टिक्न सकिनन् । फुपुलाई इन्डोनेसियाकी अर्डेलीया युली फ्रादिभ्ताले वाजारी अंकको आधारमा पराजित गरे ।
जुडोतर्फ नै महिला ५७ केजी मुनीको तौल समूहमा नेपालकी मनिता श्रेष्ठ प्रधान पनि पहिलो खेलमै पराजित भएकी छिन् । अन्तिम ३२ चरणको खेलमा मनिता भियतनामकी थि बिच गुएनसँग इपोनको आधारमा पराजित भईन् ।
यस्तै पुरुष ७३ केजी मुनीको तौल समूहको अन्तिम ३२ चरणको खेलमा नेपालका संजित डंगोलले साउदी अरबियाका सुलेमान फहाद हमानसँग इपोनकै आधारमा पराजित भए ।
यसअघि बुधबार नेपालका ईन्द्रबहादुर श्रेष्ठ र देविका खड्का पराजित भईसकेका छन् । जुडोबाट नेपालका ८ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।