काठमाडौं । नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) टिममा रहेका महिला र पुरुष राष्ट्रिय भलिबल खेलाडीको कोरोना बीमा गरिने भएको छ ।
स्वर्गीय लक्ष्मीनारायण श्रेष्ठ भलिबल मेमोरियल ट्रस्टले साग टिमका महिला र पुरुष खेलाडीको बीमा गर्ने भएको हो ।
ट्रस्टले शुक्रबार एक विज्ञप्ति निकाल्दै खेलाडीको बीमा गर्ने जनाएको छ ।
कोरोनाको महामारीले प्रभावित खेलाडीहरुको आत्मबल बढाउँन बीमा गर्न लागिएको ट्रस्टले जनाएको छ ।
'कोरोनाको महामारीबाट देशका हरेक क्षेत्र प्रभावित बनेको छ । संक्रमणको डरबाट खेलकुद क्षेत्र समेत अछुतो छैन । यसै सन्दर्भमा लक्ष्मी नारायण श्रेष्ठ मेमोरियल ट्रस्टले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता खेलेका राष्ट्रिय महिला तथा पुरुष भलिबल खेलाडीको आत्मबल बढाउँणे उदेश्यमा कोरोना बीमा गराउने निर्णय गरेको छ,' अध्यक्ष अन्जु श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
स्वर्गीय लक्ष्मीनारायण श्रेष्ठ नेपालको पहिलो अन्तर्राष्ट्रिय रेफ्री हुन् । जापानबाट १० महिनाको भलिबल प्रशिक्षण कोर्ष पुरा गरेका श्रेष्ठ जावलाखेल भलिबल प्रशिक्षण केन्द्रका संस्थापक प्रशिक्षक र उपाध्याक्ष हुन् ।