काठमाडौं । घरेलु भलिबलका गतिविधि कम्तीमा तीन महिना ठप्प हुने भएको छ । कोरोना संक्रमणका कारण नेपाल भलिबल संघले खेलकुद गतिविधि कम्तिमा थप तीन महिना ठप्प हुने बताएको हो ।
लकडाउनलाई खुकुलो बनाएको सरकारले अन्तराष्ट्रिय प्रतियोगिताको तयारीका लागि अभ्यास गर्न अनुमती प्रदान गरेको छ ।
सोही अनुसार राष्ट्रिय फुटबल टिमको प्रशिक्षण भदौ १ गतेबाट सुरु हुदैछ । तर नेपाल भलिबल संघले कोरोना महामारीका कारण आगामी तीन महिना आफ्ना कुनै कार्यक्रम नभएको बताएको छ ।
संघका महासचिव जितेन्द्र चन्दले खेलपाटीसँग बोल्दै कोरोना कहरले संघका कुनै कार्यक्रम नभएको र भलिबल गतिविधि अझै तीन महिना ठप्प हुने बताए ।
‘अहिले संघले कुनै पनि गतिविधि अघि बढाउन सकेको छैन । आगामी तीन महिना एफआईभीबी (अन्तराष्ट्रिय भलिबल महासंघ) क्यालेन्डरका सम्पुर्ण कार्यक्रम स्थगित छन् । तत्कालका लागि संघको कुनै कार्यक्रम छैन ।’ उनले भने ।
कोराना महामारीसँगै सरकारले गत चैत ११ बाट देश लकडाउन गर्यो । करिब चार महिनापछि सरकारले लकडाउन केही खुकुलो पार्यो । सुरुवातमा अवस्था सामान्य देखिएपनि पछिल्लो समय उपत्यका सहित देशभर कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । अवस्था प्रतिकुल बनेपछि उपत्यका सहित देशका अधिकांश जिल्लामा सटडाउन सहित निषेधाज्ञा जारी गरिएको छ ।
कोरोनाको संक्रमण बढेसंगै विभिन्न खेलकुद संघले खेलाडीलाई मैदान फर्काउने कार्यक्रम स्थगित गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले भदौ १ गतेबाट सुरु गर्ने प्रशिक्षणको कार्यक्रम रद्ध गरिसकेको छ ।
नेपाल भलिबल संघले समेत कोरोनाकै कारण तत्काल कुनै प्रशिक्षणको कार्यक्रम अघि नबढाउने भएको छ ।
‘अबको तीन महिना प्रतियोगितानै नहुने भएको छ । प्रशिक्षणमा बोलाएर अभ्यास गराउन सम्भव छैन । खेलाडीको अभ्यास गराउन गाह्रो छ । खेलाडीको पीसीआर गर्नुपर्याे । खेलाडीलाई बेग्लै राख्नुपर्यो । अभ्यास गरेपछि प्रतियोगिता खेलाउनु पर्याे । कहाँ खेलाउने ? कुनै न कुनै प्रतियोगिता खेलाउन पर्याे । त्यो नै सम्भव नभएकाले संघले राष्ट्रिय टिमको प्रशिक्षण गराउने योजना अघि सारेको छैन ।’ चन्द भन्छन् ।
संघले केही समयअघि मात्र प्रतियोगिता आयोजनाका लागि भन्दै एफआईभीभीबाट उच्च स्तरीय म्याट प्राप्त गरेको थियो । भलिबल संघ र महासंघको सम्झौता अनुसार नेपालले म्याट प्राप्त गरेसँगै एउटा अन्तराष्ट्रिय खेल खेलाउनु पर्ने सम्झौता पत्रमा उल्लेख थियो । तर कोभिड–१९ को कारण सो प्रतियोगिता खेलाउन नसक्ने अवस्थामा संघ पुगेको छ ।
नेपालमा गत बर्ष आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा नेपालको महिला टिमले ऐतिहासिक रजत पदक प्राप्त गर्याे । नेपाल फाइनलमा भारतसँग ३–२ को सेटमा पराजित भएको थियो । पुरुष टिम भने समूह चरणबाटै बाहिरिन पुग्यो ।
साग प्रतियोगिता पछि राष्ट्रिय भलिबल टिमका खेलाडीले कुनै अन्तराष्ट्रिय प्रतियोगिता खेल्न पाएका छैनन् ।
कोरोना अघि भलिबलका घरेलु प्रतियोगिताले भने पूर्णता पाएका थिए ।
कोरोना संक्रमण सुरु हुन अघि राष्ट्रिय पुरुष भलिबल टिमलृे अभ्यास सुरु गरेको थियो । बंगलादेशमा हुने एभीसी सेन्टर जोनका लागि पुरुष टिमले तयारी अघि बढाएको थियो ।
कोरोनाको संक्रमण बढ्ने देखिएसंगै संघले फागुन २५ गतेबाट अभ्यास स्थगित गरेको थियो । यस्तै, कोरोनाकै कारण महिला टिमको प्रशिक्षण समेत अघि बढ्न सकेन ।