काठमाडौं । इन्डोनेसियामा जारी १८ औं संस्करणको एसियन गेम्स अन्तर्गत शनिबार नेपालका एक एथलेटिक्स खेलाडीले प्रतिस्पर्धा गर्नबाट बन्चित भएका छन् ।
नेपाली टोलीको टिम व्यवस्थापनको कमजोरीको कारण लामो दुरीका धाविका विश्वरुपा बुढाले १० हजार मिटरको दौडमा प्रतिस्पर्धा गर्न नपाएकी हुन् । नेपालले निर्धारित समयमा खेलाडी दर्ता नगरेको कारण विश्वरुपाले प्रतिस्पर्धा गर्नबाट बन्चित भएकी हुन् ।
आफ्ना खेलाडी प्रतिस्पर्धाको लागि आयोजकले तोकेको समयमा खेलाडीको नाम दर्ता गराउनु पर्ने हुन्छ । तर, विश्वरुपाको नाम समयमा दर्ता नहुँदा उनी प्रतिस्पर्धाबाट बन्चित भएकी हुन् । एसियन गेम्समा नेपाली टोलीको प्रशिक्षकमा अमिरी यादव तथा व्यवस्थापकमा शान्ति सिंह रहेका छन् ।
दौडको लागि ट्रयाकभित्र प्रवेश गरेपनि विश्वरुपालाई फर्काइएको थियो । विश्वरुपाले आफ्नो नाम नरहेको कारण आफुलाई ट्रयाकबाट निकालेको बताएकी थिइन् ।
अब विश्वरुपाले ५ हजार मिटरमा प्रतिस्पर्धा गर्नेछिन् ।
एथलेटिक्सतर्फको म्याराथन र १०० मिटर दौडमा नेपालको चुनौती सकिसकेको छ ।