काठमाडौं । इन्डोनेसियामा जारी १८ औं संस्करणको एसियन गेम्स अन्तर्गत एथलेटिक्सको १०० मिटर दौडमा नेपालका याम साजन सुनार हिट चरणमै रोकिएका छन् ।
शनिबार हिट चरणको दौडमा यामले ११.३९ सेकेण्डको समय निकाले । तेस्रो हिटमा रहेका याम आफ्नो हिटको अन्तिम स्थानमा रहे । साजनको हिटमा ७ खेलाडी रहेका थिए । ३५ खेलाडी रहेका यो स्पर्धामा याम अन्तिमबाट दोस्रो स्थानमा रहे ।
यसअघि नेपालका दुई खेलाडी पराजित भएका छन् । म्याराथनतर्फ नेपालका गोपीचन्द्र पार्की र कृष्ण बहादुर बस्नेत शनिबार दौड पुरा गर्न सकेनन् ।
अब पुरुषतर्फ नेपालका सोम बहादुर कुमालले ४०० र ८०० मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन् । यस्तै महिलातर्फ सरस्वती भट्टराईले ८०० र १५०० मिटर दौड र विश्वरुपा बुढाले ५ हजार र १० हजार मिटरको दौडमा प्रतिस्पर्धा गर्ने छिन् ।