काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) मा भ्रष्ट्राचार र अनियमिताबारे युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको छानबिन कमिटिले पूर्वाग्रह र त्रुटिपूर्ण प्रतिवेदन तयार गर्दै दोषीलाई जोगाउने कार्य भएको भन्दै चार जिल्ला फुटबल संघले अख्तियार दुरूपयोग अनुसन्धान आयोग र सार्वजनिक लेखा समितिमा पुन: उजुरी दर्ता गरेका छन् ।
काठमाडौं, ललितपुर, भक्तपुर र धादिङ जिल्ला फुटबल संघले आइतबार प्रेस विज्ञप्ति निकाल्दै छानबिन कमिटिको प्रतिवेदन उपर थप छानबिन गर्न माग गर्दै अख्तियार र लेखा समितिमा पुन उजुरी दर्ता गरिएका हुन् ।
छानबिन समितिले सत्यतथ्य नबुझी एक पक्षिय रुपमा उजुरीकर्तालाई समेत जानकारी नदिई गुपचुप रुपमा दोषीलाई संरक्षण गर्ने गरि अख्तियारमा प्रतिवेदन बुझाएको कारण एन्फामा थप भ्रष्ट्राचार बढेको कारण उजुरी गरिएको चार जिल्ला फुटबल संघले दाबी गरेका छन् ।
एन्फामा आर्थिक अनियमिता भएकाे अाराेप लगाउँदै चार जिल्ला संघले २०७५ पुस २२ गते अख्तियारमा उजुरी गरेका थिए । त्यसपछि अख्तियारको निर्देशनमा मन्त्रालयले सहसचिब अणप्रसाद न्यौपानेको संयोजकत्वमा छानबिन गठन गरेको थियो ।
चार जिल्ला संघले प्रतिवेदनको आधारमा निर्णय कार्यन्वयन गराउन अख्तियारले २०७६ साउन २८ गते दिएको निर्देशन एन्फाले पालना नगरेको समेत जनाएको छ ।
एन्फामा भएको आर्थिक अनियमिता र अवैधानिक कार्यको विरोध गर्दा अवैधानिक तरिकाले जिल्ला संघमाथि नै एन्फाले षड्यन्त्र पुर्वक तरिकाले प्रहार गरिरहेको जनाएको छ ।
त्यस्तै चार जिल्ला संघले राष्ट्रिय खेलकुद परिषद (राखेप) ले समेत एन्फाको अवैधानिक कार्यमा प्रोत्साहन गरिरहेको आरोप लगाएको छ । संघले अवैधानिक कार्य रोक्नका लागि राखेपसँग माग समेत गरेको छ ।
एन्फाका अवैधानिक कार्यहरु नरोकिए संघर्ष समिति बनाएर संघर्षमा उत्रने समेत चार जिल्ला संघले चेतावनी दिएको छ ।
यसअघि समेत चार जिल्ला फुटबल संघले एन्फाभित्र आर्थिक अनियमितता र भ्रष्टाचार भएको आरोप लगाउँदै अख्यिारमा उजुरी गरेका थिए । उनीहरुले १४ बुँदे आरोप लगाउँदै एन्फाभित्र भएको आर्थिक अनियमितता छानविन गर्न माग गरेका थिए ।
अख्तियारले मन्त्रालयको नेतृत्वमा छानविन समिति गठन गरेर आरोपको अनुसन्धान गरेको थियो । तर आरोप प्रमाणित हुने आधार नभेटिएको भन्दै अख्तियारले एन्फालाई क्लिन चिट दिएको थियो । पुन सोही बिषयलाई लिएर चार जिल्ला फुटबल संघ अख्तियारमा पुगेका हुन् ।