काठमाडौं । सरकारले कोरोना भाईरसको संक्रमण फैलन नदिन खेल मैदान बन्द राख्ने निर्णयलाई यथावत राखेको छ ।
मन्त्रीपरिषद्को बिहिबार बसेको बैठकले समुहमा खेलिने खेलकुद सहित खेल मैदान बन्द राख्ने निर्णय गरेको हो ।
बिहिबारबाट लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको सरकारले विभिन्न ब्यापारिक तथा व्यवसायीक उद्योग सञ्चालन गर्न अनुमती दिएको छ । यस्तै, सरकारको निर्णयले जोर–बिजोर आधारमा नीजि सवारी साधन सञ्चालन गर्न समेत पाईनेछ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले यसअघि बन्द रंगशालामा दर्शन बिहिन फुटबल सञ्चालन गर्ने तयारी गरेको थियो । सरकारले पछिल्लो निर्णयले सुरक्षाका सम्पूर्ण उपाय अपनाउदै स्थगित अवस्थामा रहेका बी र सी डिभिजन लिग फुटबल सञ्चालन गर्ने राखेपको तयारी प्रभावित बनेको छ ।
राखेपले बन्द रंगशालामा पूर्ण शतर्कताका साथ लिग फुटबलका बाँकी खेल र क्रिकेटको अभ्यास सञ्चालन गर्ने तयारी गरेको थियो । राखेपले सानो समूहमा राष्ट्रिय क्रिकेट टिमको समेत प्रशिक्षण सुरु गर्ने योजना बनाएको थियो । तर सरकारले खेल मैदान बन्द राख्न निर्णय गरेसंगै राखेपलाई तत्काल समुहमा खेलिने खेलकुद सञ्चालन गर्न अफठ्यारो परेको छ ।
नेपालमा कोरोनाको संक्रमणको जोखिम बढेसंगै सरकारले सम्पूर्ण खेल गतिविधि सञ्चालनमा रोक लगाएको थियो । मन्त्रीपरिषद्को बिहिबारको निर्णयले झण्डै तीन महिनादेखि बन्द प्राय रहेको खेलकुद गतिविधि अघि बढाउन राखेपलाई समस्या पर्ने देखिएको छ ।
कोरोनाबाट धेरै प्रभावित बनेको युरोपको शीर्ष डिभिजनका लिग फुटबल सुरु भईसकेका छन् भने क्रिकेट प्रतियोगिता समेत सञ्चालनको तयारीमा छन् ।