काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पालाई कारबाहीको मागसहित चार जिल्ला फुटबल संघले राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनालाई पत्र बुझाएका छन् ।
काठमाडौं, ललितपुर, भक्तपुर र धादिङ जिल्ला फुटबल संघले अध्यक्ष शेर्पालाई आवश्यक कारबाहीको माग राख्दै शुक्रबार उपाध्यक्ष तिम्सिनालाई पत्र बुझाएका हुन् ।
काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष विराटजंग शाही, ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापा, भुक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष गौतम सुजखु र धादिङ जिल्ला फुटबल संघका अध्यक्ष दीपक खतिवडाद्वारा हस्ताक्षरित ‘आवश्यक कारबाही गरी पाउँ भनि विनम्र अनुरोध छ’ भन्ने विषयको पत्र उपाध्यक्ष तिम्सिनालाई बुझाइएको हो । पत्र हस्तान्तरणका बेला भुक्तपुरका अध्यक्ष सुजखु भने उपस्थित थिएनन् ।
एन्फा अध्यक्षले पछिल्लो समय स्वेच्छाकारी ढंगले व्यक्तिगत पूर्वाग्रह राखी व्यक्तिगत लाभ हासिल गर्दै एन्फा र समग्र फुटबलको हित विपरित काम गरिरहेको बताउँदै कारबाहीको माग पत्रमा गरिएको छ।
यसअघि चारै जिल्लाका अध्यक्षले राखेपमा एन्फा अध्यक्षबिरुद्ध कारबाहीको माग गर्दै राखेपमा उजुरी दर्ता गराएका थिए । पुन चारै जिल्ला अध्यक्षले राखेप उपाध्यक्षसंग भेट गरि कारबाहीको माग दोहर्याएका हुन् ।
यस्तै पछिल्लो समय एक मिडियामा तराईका समुदाय र राष्ट्रियता भावना विपरित अभिव्यक्ति दिदै कानुन उलंघन गरेको बिषयमा समेत छानविन गर्न आग्रह गरिएको छ ।
त्रिपुरेश्वरको राखेपस्थित आफ्नै कार्यकक्षमा पत्र बुझ्दै उपाध्यक्ष तिम्सिनाले पत्रमा उल्लेख भएका विषयमा बुझ्ने बताउदै एकिकृत ढंगले एन्फा चलोस् भन्ने आफूले चाहेको धारणा व्यक्त गरेका थिए ।