काठमाडौं । कोरोना भाइरस भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से च्याम्पियनसिपको निर्णायक मण्डलमा नेपाली अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का मनोनित भएका छन् ।
खड्कासहित प्रतियोगिताका लागि विभिन्न राष्ट्रका १३ जना निर्णायक चयन भएकोमा एसियाली महादेशबाटै मनोनित हुने खड्का एक मात्र निर्णायक भएको बताइएको छ । खड्का ग्योरोगी, पुम्से र पारा तेक्वान्दोका एक्लो नेपाली निर्णायक पनि हुन् ।
युएस वेस्ट कोस्ट तेक्वान्दो संघ, पोर्टल्यान्ड, अमेरिकाको तत्वावधान तथा पान अमेरिकन तेक्वान्दो युनियन, पोर्टल्यान्डको आयोजनामा प्रतियोगिता नेपाली समय अनुसार आज राति १२ बजेदेखि सुरु हुँदैछ । चारदिने प्रतियोगिता ‘जुम’ प्रविधि मार्फत प्रत्यक्ष हुने छ ।
प्रतियोगिताबाट संकलित रकम कोरोना भाइरसबाट अत्ति प्रभावित विभिन्न राष्ट्रका अनाथलयमा रहेका खेलाडीलाई सहयोग स्वरुप प्रदान गरिने नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष समेत रहेका खड्काले जनाएका छन् । सहभागी खेलाडीले दर्ता शुल्कवापत एक सय अमेरिकी डलर बुझाउनु पर्ने छ ।
निर्णायकले पारिश्रमिक वापत पाउने रकम पनि अनाथलयमा रहेका खेलाडीलाई सहयोग स्वरुप प्रदान गरिने छ । निर्णायकले प्रति दिन एक सय अमेरिकी डलरका दरले पारिश्रमिक पाउने छन् ।