काठमाडौं । विश्वभर चर्किएको रंगभेदबिरुद्धको आन्दोलनमा ए डिभिजन क्लब थ्री स्टारले एक्यबद्धता जनाएको छ ।
थ्री स्टारले आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुकमार्फत रंगभेदलाई रातो कार्ड लेख्दै विभेदबिरुद्धको विश्वब्यापी आन्दोलनमा एक्यबद्धता जनाएको हो ।
थ्री स्टारले सबै संगै हुदाँ बलियो हुने भन्दै कसैलाई पनि रंग र जातका आधारमा भेदभाव गर्न नहुने उल्लेख गरेको छ ।
‘फुटबलको माध्यमबाट हजारौ मानिस खेलाडी र क्लबसंग जोडिएका हुन्छ । हामीले दिएको सकारात्मक सन्देशले रंगभेदबिरुद्धको आन्दोनलमा सहयोग पुग्छ भनेर समर्थन गरेका हौ ।’ क्लबका कप्तान बिक्रम लामाले खेलपाटीसंग भने ।
अमेरिकी नागरिक जर्ज फ्लोयडको प्रहरी कारबाहीको क्रममा मृत्यु भएपछि विश्वब्यापी रुपमा रंगभेदबिरुद्धको अन्दोलन चर्किएको छ । रंगकै आधारमा प्रहरीको दमनबाट फ्लोयडले ज्यान गुमाउनुपरेको आन्दोलनमा उभिएका अधिकांशको दलील छ ।
युरोपका स्टार फुटबलरदेखि विभिन्न क्षेत्रमा सामाजिक पहिचान स्थापित गरेको ब्यक्तिहरुले आन्दोलनमा समर्थन गर्दै वर्ण र जातका आधारमा हुने विभेदको विरोध गरेका छन् ।
सोही क्रममा नेपालको लोकप्रिय क्लब थ्री स्टारले विश्वब्यापी आन्दोलनमा आफ्नो समर्थन जनाएको हो ।
‘फुटबलले संसारलाई एक ढिक्का बनाउने गर्छ । वर्ण, जातका आधारमा एक मानिसबाट अर्कोलाई विभेद हुनुहुदैन । फुटबलबाट सबैतिर समानता पुग्नुपर्छ भन्ने पक्षमा रहेका छौ ।’ थ्री स्टार कप्तान लामाले थपे, ‘रंग जे होस, रगत सबैको रातो हो । रंगको आधारमा गरिने भेदभाव स्विकार्य छैन ।’
घरेलु फुटबलमा समेत बेला बखत रंगभेदको बिषय उठ्ने गरेको छ । घरेलु लिग फुटबलमा अधिकांश अफ्रिकन देशका खेलाडीहरु खेल्न आउने गर्छन् ।
वर्णकै आधारमा उनीहरुले खेलाडी र दर्शकबाट विभेद ब्यहोर्नु परेको घटना बेला बखतमा सार्वजनीक हुने गरेका छन् ।
यस सिजनमात्र ए डिभिजन लिगमा जावलाखेल युथ क्लबका विदेशी खेलाडी ड्याडी जुनियर वाम्बाले आफुमाथि रंगभेद गरिएको आरोप लगाएका थिए ।
उनले त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवासले आफुलाई रंगभेदी टिप्पणी गरेको भन्दै कारबाहीको माग गरेका थिए ।
लिगका दौरान दशरथ रंगशालामा भएको खेलमा समेत भीआईपी प्यारापिटमा बसेका दर्शकले अफ्रिकन खेलाडीमाथी रंगभेदी नारा लगाएका थिए ।