एजेन्सी । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पालाई कारबाहीको माग गर्दै चार जिल्ला फुटबल संघले प्रधानमन्त्री कार्यालयमा निवेदन दिएका छन् ।
एन्फा अध्यक्ष शेर्पाले एक भिडियोमा दिएको अन्तरवार्ता नेपालको कानुन र अन्तराष्ट्रिय फुटबल महासंघ (फिफा), एसियाली फुटबल महासंघ (एएफसी) र एन्फाको समेत विधान विपरित रहेको भन्दै चार जिल्ला फुटबल संघले प्रधानमन्त्रीसंग कारबाहीको माग गरेका छन् ।
काठमाडौं, भक्तपुर, ललितपु र धादिङ जिल्ला फुटबल संघले शेर्पाको नेतृत्वमा विभिन्न किसिमको अनियमितता र त्रुटिपूर्ण काम भएको भन्दै कारबाही गर्न माग गदै प्रधानमन्त्री कार्यालयमा निवदन दर्ता गराएका हुन् ।
‘शेर्पाले दिएको अन्तरवार्ताले मधेशी समुदायको भावनामा चोट पुगेको छ । त्यसैले कारबाहीको माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी दिएका हौ ।’ काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष विराजजंग शाहीले खेलापटीसंग भने ।
चार जिल्ला फुटबल संघले एन्फा अध्यक्षलाई कारबाहीको माग गर्दै युवा तथा खेलकुद मन्त्रालयमा समेत उजुरी दिएका छन् ।
एन्फाको वर्तमान नेतृत्वबिरुद्ध असन्तुष्ट चार जिल्ला फुटबल संघले निरन्तर विरोध गर्दै आएका छन् । यसअघि चारै जिल्ला फुटबल संघले एन्फामा ब्यापक आर्थिक अनियमितता र भ्रष्टाचार भएको भन्दै एन्फा अध्यक्षलाई कारबाहीको माग गर्दै अख्तियार सहितका निकायमा उजुरी दिएका थिए ।
तर आरोप प्रमाणित हुने आधार नभेटिएको भन्दै अख्तियारले एन्फालाई क्लिन चिट दिएको थियो ।
एन्फाको निरन्तर बिरोध गर्दै आएका चार जिल्ला फुटबल संघ मध्य ललितपुर जिल्ला अध्यक्ष पुरुपोत्तम थापाले सामाजिक सञ्जालमा फुटबल संघ र पदाधिकारीमाथि नकारात्मक टिप्पणी गरेको भन्दै एन्फाले अस्थायी निलम्बनको कारबाही गरेको छ ।