पोखरा । गण्डकी प्रदेश सरकारले १३ औं दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेतालाई खेलाडी तथा प्रशिक्षकलाई नगद सहित सम्मान गर्ने भएको छ ।
साग खेलकुदमा प्रदेशबाट सहभागी बनेर पदक जितेका खेलाडी तथा प्रशिक्षकलाई प्रदेश सरकारले प्रोत्साहन स्वरुप नगद सहित सम्मान गर्ने घोषणा गरेको हो ।
नयाँ आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख अमिक शेरचनले पदक विजेता खेलाडीलाई नगद सहित सम्मान गर्ने बताएका छन् ।
सागमा गण्डकी प्रदेशका खेलाडीले २ स्वर्ण, १५ रजत र १६ कास्य हात पारेका थिए ।
सागमा पदक विजेता ४ सय ३५ जना खेलाडीलाई संघीय सरकारले यसअघिनै १९ करोड ५३ लाख रुपैयाँको पुरस्कार वितरण गरिसकेको छ ।
संघीय सरकारले व्यक्तिगत र टिम स्पर्धा गरि खेलाडीलाई फरक फरक पुरस्कार रकमको व्यवस्था गरेको थियो ।
यसअघि बाग्मती प्रदेश सहित अन्य प्रदेश तथा स्थानीय सरकारले समेत आफ्नो क्षेत्रबाट सागमा पदक जित्ने खेलाडीलाई नगद सहित सम्मान गरेका थिए ।
तर गण्डकी प्रदेश सरकारले खेलाडी सम्मानमा वेवास्ता गरेको भन्दै पदकधारी खेलाडीले गुनासो गरेका थिए ।
अब प्रदेश सरकारले नीति तथा कार्यक्रममै खेलाडी सम्मानको बिषय प्रवेश गराउँदै सागका पदकधारी खेलाडीलाई नगद सहित सम्मान गर्ने बताएको हो ।
प्रदेशलाई खेलकुद र पर्यटनको हबका रुपमा विकास गर्ने लक्ष्य राखेको प्रदेश सरकारले खेल पर्यटनलाई प्रथामिकता दिदै नयाँ आर्थिक बर्षको नीति तथा कार्यक्रम घोषणा गरेको छ ।