काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक आज (सोमबार) बस्दैछ । समसामहिक बिषयमा छलफल गर्न भन्दै एन्फाले कार्यसमिति बैठक बोलाएको हो ।
भिडियो कन्फरेन्समार्फत हुने बैठक बिहान ११ बजे सुरु हुनेछ ।
एन्फा प्रवक्ता किरण राईका अनुसार बैठकमा फुटबल संघको बार्षिक बजेट, कोरोना राहत वितरण, साधारण सभा, अनुशासन र विविध गरि ५ एजेण्डामा छलफल हुनेछ ।
कोरोना भाईरसको महामारीका बीच एन्फाले सबै प्रदेश र जिल्लासंग बार्षिक बजेटका बिषयमा प्रारम्भिक छलफल गरेको छ । बैठकले बार्षिक बजेटका बिषयमा औपचारिक निर्णय गर्नेछ ।
यस्तै, कोरोना प्रभावितलाई राहत वितरणका सम्बन्धमा समेत एन्फा कार्यसमिति बैठकले औपचारिक निर्णय गर्नेछ । कोरोनाबाट प्रभावित फुटबल समुदायलाई राहत वितरण गर्ने भन्दै फिफाले प्रत्येक देशका फुटबल संघलाई आर्थिक सहयोग गर्ने बताएको थियो ।
सोही अनुसार एन्फाले प्रत्येक जिल्ला, क्लब, खेलाडी र अफिसियलबाट लगत संकलन गर्दै प्रस्तावित बजेट फिफा समक्ष पठाएको छ । सोही अनुसार फिफाबाट प्राप्त राहत वितरणको सम्बन्धमा बैठकले औपचारिक निर्णय गर्नेछ ।
बैठकले संघको बार्षिक साधारण सभाका सम्बन्धमा समेत औपचारिक निर्णय गर्नुपर्नेछ । कोरोना महामारीका कारण चैतमा तय भएको साधारण सभा अनिश्चित समयका लागि स्थगित भएको थियो । सोमबारको बैठकले एन्फाको बार्षिक साधारण सभाको नयाँ मिति तय गर्ने अपेक्षा गरिएको छ ।
यस्तै, बैठकमा अनुशासनलाई समेत एजेण्डालाई बिषय प्रवेश गराईएको छ । अनुशासन विपरित क्रियाकलाप गरेको भन्दै एन्फाले ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम थापालाई साधारण सभासम्मका लागि निलम्बन गरेको छ ।
एन्फाले सचिवालय बैठकले गरेको सोही निर्णयलाई कार्यसमिति बैठक मार्फत अनुमोदन गराउने तयारी छ ।
एन्फाको शंसोधित विधान अनुसार ७ दिन अघि सुचना दिएर कार्यसमिति बैठकका बोलाउनुपर्ने व्यवस्था छ । सोही अनुसार एन्फाले जेठ १३ गते कार्यसमिति बैठक आह्वान गरेको थियो ।