पोखरा । गण्डकी प्रदेश सरकारले हरेक जिल्लामा रंगशाला निर्माणको नीति लिने भएको छ ।
प्रदेश सभाको आईतबारको बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख अमित शेरचनले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा संघीय सरकारसंगको सहकार्यमा प्रत्येक जिल्लामा रंगशाला निर्माण गर्ने नीति लिईने उल्लेख गरे ।
गण्डकी प्रदेश सरकारले नयाँ आर्थिक बर्षको नीति तथा कार्यक्रममा प्रदेशको खेल पुर्वाधार निर्माणमा उच्च प्राथमिकता दिने उल्लेख गरेको छ ।
यस्तै, प्रदेश सरकारले संघीय सरकारसंगको समन्वयमा अन्तराष्ट्रिय स्तरको बहुउद्देश्यीय रंगशाला निर्माण गर्ने भएको छ । पोखरालाई खेलकुदको केन्द्रको रुपमा विकास गर्ने लक्ष्य राखेको सरकारले प्रदेशमै अन्तराष्ट्रिय स्तरको बहुउद्धेश्यीय रंगशाला निर्माण गर्ने भएको हो ।
यस्तै, प्रदेश सरकारको नीति तथा कार्यक्रममा उच्च पर्वतीय खेलकुद तालिम केन्द्र र क्रिकेट मैदान निर्माणको कामलाई निरन्तरता दिने बताईएको छ ।
केन्द्रिय सरकारले समेत पोखराको क्रिकेट रंगशाला निर्माणमा आवश्यक बजेट दिने बताएको छ भने उच्च पर्वतीय खेलकुद केन्द्र स्थापनालाई बजेट विनियोजन गरेको छ ।
गण्डकी प्रदेश सरकारले आफ्नो प्रदेशमा हुने अन्तराष्ट्रिय तथा तथा राष्ट्रिय खेलकुद आयोजना गर्न सहजीकरण गर्ने नीति समेत सार्वृजनीक गरेको छ ।
गत बर्ष १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता आयोजना गरेको गण्डकी सरकारले यसबर्ष नवौं राष्ट्रिय खेलकुद आयोजनाको समेत जिम्मेवारी पाउँदैछ ।