काठमाडौं । नेपाल भलिबल संघले यस वर्ष भलिबल दिवसमा कुनै औपचारिक कार्यक्रम नगर्ने भएको छ ।
नेपाल सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेपछि संघले जेठ ८ लाई भलिबल दिवसको रुपमा मनाउँदै आएको छ ।
तर, कोरोना भाईरसको संक्रमण फैलन नदिन मुलुक लकडाउनको अवस्थामा रहेको भन्दै संघले बिहिबार कुनै औपचारिक कार्यक्रम नगर्ने भएको हो ।
'कोरोनाको कारणले अहिले कुनै कार्यक्रम गर्ने अवस्था छैन । राष्ट्रिय र अन्तर्राष्ट्रिय कार्यक्रमहरु स्थगित भईसकेको छ । त्यसैले यस पटक भलिबल दिवसको दिन फेसबुक पेजबाट शुभकामना आदानप्रदान मात्र गर्ने छौँ,' संघका महासचिब जितेन्द्र बहादुर चन्दले खेलपाटीसँग भने ।
सरकारले भलिबललाई २०७४ साल जेठ ८ गते राष्ट्रिय खेलको मान्यता दिएको थियो । तर, सरकारले गत पुसमा मात्र औपचारिक रुपमा भलिबललाई राष्ट्रिय खेलको रुपमा खेलकुद विकास विधेयकमा समेटेको थियो ।
सरकारले राष्ट्रिय खेलको मान्यता दिएपछि संघले वार्षिक रुपमा भलिबल दिवस मनाउँदै आएको थियो ।
यस्तै महासचिब चन्दले कोरोनाको महामारी रोकिएर सामान्य अवस्था बनेपछि सामान्य कार्यक्रम गरिने समेत बताए ।
'नेपाल सरकार र राष्ट्रिय खेलकुद परिषद (राखेप) ले लकडाउन खोलेपछि र सामान्य अवस्था भएपछि सामान्य कार्यक्रम गरेर दिवस मनाउने छौँ,' चन्दले भने ।
कोरोनाकै कारण पाँचौं संस्करणको एनभीए राष्ट्रिय पुरुष-महिला क्लब भलिबल लिग अनिश्चितकालका लागि स्थगित भएको थियो । संघले प्रतियोगिता बैशाख २५ देखि जेठ १ गतेसम्म गर्ने तय गरेको थियो ।
कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै सरकारले गत चैत ११ बाट लकडाउन गर्दै आएको छ । लकडाउनको अवधि जेठ २० सम्म रहेको छ ।
कोरोनाको कारण नेपालमा २ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमितको संख्या ४०२ रहेको छ ।