काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगमा सर्वाधिक गोलकर्ता चुनिएका थिए, विभागीय टोली एपीएफका आशिष लामा ।
यस सिजनको लिगमा सर्वाधिक ९ गोल गरेका आशिष विश्वकप छनोट प्रतियोगिता अन्तर्गत अष्ट्रेलिया र चाईनिज ताईपेबिरुद्ध खेलका लागि राष्ट्रिय टोलीको प्रारम्भिक छनोटमा परेका थिए ।
विश्वभर फैलिएको कोरोना भाईरस महामारीको कारण देखाउँदै अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय टिमको प्रशिक्षणनै स्थगित गर्याे ।
एन्फाले आफ्ना सम्पुर्ण खेलकुद गतिविधि ठप्प पार्दा धेरै खेलाडीहरु समेत गृह जिल्ला फर्किए ।
कोरोनाले धेरै खेलाडीकाे दैनिकी प्रभावित बन्दा गृह जिल्ला पुगेका आशिष भने लकडाउनकाे समय कृषिमा सदुपयाेग गरिरहेका छन् ।
घर परिवारसंग पुरा समय बिताईरहेका आशिषको दैनिकी कृषि अन्नबाली लगाउनमा व्यस्त छ । सरकारले लकडाउन लागु गर्नुअघिनै नुवाकोट पुगेका आशिष अहिले घर परिवारसँग मकै रोप्नमा ब्यस्त छन् ।
‘लकडाउनमा घरमै छु । गाउँघरमा मकै रोप्ने सिजन चलिरहेको छ । घरमै रहेका कारण परिवारलाई सहयोग गरिरहेको छु ।’ राष्ट्रिय टिमबाट डेब्यु गरिसकेका आशिषले आफ्नो दैनिकीबारे खेलपाटीलाई बताए ।
सरकारले चैत ११ गतेदेखि देशभर लकडाउनको घोषणा गरेको हो । कोरोनाकै कारण विश्वभर २ लाख बढी मानिसको मृत्यु भईसकेको छ । लाखौ मानिस संक्रमित देखिएका छन् । नेपालमा समेत तिब्र गतिमा संक्रमण फैलिएको छ ।
लकडाउनले खेलाडी मैदान फर्कने अवस्था छैन । उपत्यकामा रहेको खेलाडी बन्द कोठा र घरको छतमा सामान्य अभ्यास गरिरहेका छन् ।
गृह जिल्ला पुगेका आशिषको अवस्था भने केही सहज छ । गाउँ घरको खुल्ला वातावरणले उनलाई बाहिर निस्किएर अभ्यास गर्न मिलेको छ । आशिष अन्य खेलाडी जस्तै घरमै सामान्य अभ्यास गर्ने र परिवारलाई कृषिमा सहयोग गरिरहेका छन् ।
न्युरोड टिम एनआरटीबाट ब्यवसायीक फुटबल यात्रा सुरु गरेका आशिष मनाङ मस्र्याङ्दी क्लबबाट समेत खेले । मनाङबाट राष्ट्रिय लिग खेलेका उनी लगत्तै विभागीय टिम एपीएफमा आबद्ध भए ।
उनको स्थायी घर नुवाकोट गेर्खु हो । यसअघि उनी कृषिमा खासै लागेका थिएनन् । कोरोनाकै कारण घर पुगेका उनीले यतिबेला खेती किसानीमा मज्जाले संलग्न हुन पाएका छन् ।
‘पहिले घरमा यति धेरै काम गरिदैन थियो । धेरै समय समेत बस्न मिलेन । लामो समय काम पनि हुँदैन थियो ।’ आशिष भन्छन् ।
कोरोनाकै कारण नयाँ कामको अनुभव भएको आशिष बताउँछन् ।
‘गाउँमा गर्ने कामको अनुभव भयो । समयले पनि यस्तो बनायो । तर मलाई यस्तो काम गर्न गर्व लाग्छ ।’ उनी भन्छन् ।
स्विडिस प्रशिक्षक जोहान कालिनले नेपाली टिम सम्हाल्ने मौका पाएपछि आशिषले राष्ट्रिय टिमबाट डेब्यु गर्ने अवसर पाए । उनले गतबर्ष चैतमा कुवेतविरुद्ध भएको दोस्रो मैत्रिपुर्ण खेलमा डेब्यु गरेका थिए । त्यसयता उनी राष्ट्रिय टिमबाट बाहिर छन् ।
यस सिजन लिगमा सर्वाधिक गोलकर्ता भएपनि आशिषले कुनै पुरस्कार पाएनन् । अघिल्लो सिजन उनले एपीएफले पाँचौं स्थान प्राप्त गर्दा ३ गोल गरेका थिए ।
उनको बाल्यकालका धेरै साथीहरु कृषि पेशामा लागेका छन्, केही लाहुर पसेका छन् । यता आशिष भने खेलकुद क्षेत्रमा लाग्दै खेलाडी जिवन अगाडी बढाए । घर परिवार, साथी संगी, आफन्तहरु आशिषको खेल कौशलबाट प्रभावित छन् । उनीहरु आशिषलाई खेलकुदमै लाग्न प्रेरित गर्छन् ।
‘हाम्रो कृषि प्रणाली जिविकोपार्जनका लागि मात्र छ । त्यसैले मैले फुटबल रोजे । फुटबलमा मैले गरेको गरेको प्रगति देखेरै सबै खुसी छन् । मलाई नि खुसीनै लाग्छ ।’ उनी भन्छन् ।