पोखरा ।
१४ वर्ष अघिको कुरा हो । पुर्णबहादुर रसाईली बाग्लुङ बजारबाट घर फर्कंदै थिए । बाटोको छेउमा कराँते खेल भइरहेको देखे । उनलाई खेल हेर्न निकै मज्जा लाग्यो । मैदान वरपर अरु पनि थिए, खेलाडीको हौसला बढाईरहेको देखिन्थे ।
पुर्णबहादुर आफ्ना छोराले पनि कराँते खेलेको कल्पना गर्न थाले । आफुसंगै छिमेकी समेत छोरालाई हौसला बढाउँदै गरेको सपना देख्न थाले । उनले पनि आफ्ना छोरालाई कराँते खेलाउने अठोट गरे ।
घर पुग्ने बित्तिकै उनले आफ्नो ईच्छा श्रीमतीसंग सुनाए । घर–सल्लाह गरे । अनि दुई छोरा (राजकुमार र नवीन) लाई कराँते सिक्न पठाउने निधो गरे ।
छोराहरु पनि कराँते सिक्न सुरु गरे । छोराहरुले कराँते खेल्न थालेको केही समय मात्र बितेको थियो । पुर्णमानले एक दिन निर्णय गरे, दुवै छोरालाई काठमाडौं लैजाने, कराँते खेलाउने र राम्रो खेलाडी बनाउने ।
राजधानी छिर्ने निर्णय रसाईली परिवारका लागि सजिलो थिएन । केही नगद जोडजाम गरे । केही ऋण बटुले । अनि लागे सपनाको शहर काठमाडौं ।
शहर छिरे लगत्तै उनले दुवै छोरालाई बालाजु कराँते एकेडेमीमा भर्ना गरिदिए । ध्रुव बिक्रम मल्ल एकेडेमीका प्रशिक्षक थिए । मल्लकै छत्रछायाँमा दुवैले कराँते करियर अघि बढाए ।
दिनहरु बित्दै गए । सपनाहरु मुर्झाउँदै थिए । १४ बर्षको अन्तरमा बाग्मतीमा धेरै पानी बग्यो । सुख–दुख गर्दै रसाईली परिवारले आफ्नो जिन्दगी गुजारे ।
भदौ दोस्रो साता पूर्णबहादुरको फोन बज्यो । साँझको समय उनी खाना खाएर कोठा मात्र छिरेका थिए । माईलो छोरो (नवीन)को फोन रहेछ । नवीनले आफु र जेठा दाजु (राजकुमार) साग खेलकुदमा छनोट भएको खबर सुनाए । पूर्णबहादुरले लामो सास फेर, दुई थोपा आँसु खसाले । उनले १३ बर्षअघि अघि देखेको सपना पुरा भएको दिन थियो ।
छोराको खबर सुनेपछि पूर्णबहादुरले आफु भावुक बनेको क्षण खेलपाटीसंग साटे ।
‘कोठामा बसिरहेको थिए । नवीनले फोन गर्यो । सागमा छनोट भएको कुरा सुनाए । हर्षले मन गदगद भो । एक्कासी आँशु झर्न थाले । १३ वर्षअघि मैले देखेको सपना पुरा हुदै थियो ।’ उनले भने ।
अब दुवै छोराले सागमा कस्तो प्रर्दशन गर्छन् ? हेर्न बाँकी थियो ।
सागमा छनोट भएपछि नवीन र राजकुमार बन्द प्रशिक्षणमा गए । घरको बसाई पातलिदै थियो । बेलुका बस्न मात्र आउँथे । दुवै भाई पदक जितेर देशको नाम राख्न चाहन्थे । पदक जितेर दुवैले घरको अवस्था समेत सुधार्नु थियो । बुवाको सपना पुरा गर्नु थियो ।
करिब ३ महिना कडा अभ्यास र प्रतिक्षापछि साग खेलकुदको समय भयो । प्रतियोगितालाई लिएर रसाईली परिवार उत्साहित थियो ।
‘तीन महिनाको कडा परिश्रमपछि समय आएको थियो । दुवै भाई निकै उत्साहित थियौ । कुनैपनि हालतमा पदक जित्नुपर्छ भन्ने थियो ।’ नवीन सम्झिन्छन् ।
नवीन ६७ केजी तौलमा प्रतिस्पर्धा गर्दै थिए । दाजु राजकुमार भने टिम इभेन्ट अन्तर्गत कुमितेमा भिड्दै थिए ।
नवीन आफ्नो खेल जित्दै फाइनलमा पुगे, प्रतिद्धन्दी पाकिस्तानका खेलाडी थिए ।
फाईनल पुगेपछि नवीनले आफ्नो विगत सम्झिएको बताउँछन् ।
‘साथीको कपडा मागेर कराँते एकेडेमी छिरेको सम्झिए । बुवाले हाम्रा लागि गरेको दुख सम्झिए । देशको जित चाहेका थिए । म हारे देशले हाथ्र्यो, जिते देशले जित्ने थियो ।’ उनले खेलपाटीसंग भने ।
फाईनलको नतिजा नवीनको पक्षमा आयो । उनले पाकिस्तानी खेलाडीलाई हराउँदै स्वर्ण जिते । स्वर्णको खुुसी उनले घरमा फोन गरेर सुनाए ।
‘घरमा खुशीको सिमै रहेन । फाइनल जितेपछि आँखाबाट आँसु आयो, मेरो जितमा देश र बुबाको जित थियो ।’ नवीन सम्झिन्छन् ।
स्वर्ण जितेको भोलीपल्टै घरबाट बुवा पूर्ण सहित आमा, भाई, भाउजु उनलाई भेट्न खेलाडी बसेको क्याम्पमै आए । रसाईली परिवारले अर्को एक पदक पनि प्राप्त गर्यो । जेठा छोरा राजकुमारले आफ्नो स्पर्धामा कास्य जिते ।
नवीन आफ्नो बुवा र गुरुका कारण देशका लागि पदक जित्न सफल भएको सुनाउँछन् ।
‘उहाँहरु नभएको भए सायद म यहाँ पुग्ने थिइनँ होला । उहाँहरुकै कारण सफलता चुमे ।’ नवीन भन्छन् ।
गुरु ध्रुव बिक्रमले आफ्नो नीजि खर्चमा देश विदेश लगेर खेलाउने गरेको नवीनले बिर्सिएका छैनन् । गुरुले आफुमाथि गरेको लगानीले कराँते खेल्न सधै प्रेरित गरेको नवीन सुनाउँछन् ।
सरकारले सागमा पदक जित्ने खेलाडीको खातामा पैसा समेत पठाएको छ । नवीन र उनका दाजुको खातामा समेत पुरस्कार वापतको पैसा आएको छ । नवीन पुरस्कार रकम घरको आवश्यकता अनुसार खर्च गर्ने सुनाउँछन् ।
‘पुरस्कार रकम परिवारकै सहयोगका कारण आएको छ । सल्लाह गरेर खर्च गर्ने हो । घरमा निकै दुख हुँदा समेत बुवा–आमाले खेल्नमा आँट दिनुभयो । यो पैसा उहाँहरुकै लागि खर्च गर्नेछु,’ नवीन भन्छन् ।