काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरि खड्काले गत मंसिरमा राजीनामा दिएका थिए ।
घरेलु भूमिमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई स्वर्ण पदक दिलाउन असफल भएपछि प्रशिक्षक खड्काले पदबाट राजीनामा दिएका थिए ।
पोखरा रंगशालामा भएको फाइनलमा नेपाल भारतसँग २-० ले पराजित हुँदै रजतमा समेटिएको थियो । लगत्तै मुख्य प्रशिक्षक खड्काले राजीनामाको घोषणा गरेका थिए ।
प्रशिक्षक खड्काले टिम छाडेको ६ महिना बितिसकेको छ । तर, अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला टिमको मुख्य प्रशिक्षक नियुक्त गर्न सकेको छैन ।
सागपछि महिला टिमले अन्तर्राष्ट्रिय प्रतियोगिता समेत खेलेका छैनन् । महिला फुटबल लगभग निस्क्रिय अवस्थामा रहेको छ ।
विभागीय टिममा रहेका खेलाडी भने विभागको जागिरमा छन् । अन्य खेलाडी भने गुमनाम छन् ।
यस्तै पछिल्लो केहि महिनायता विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण खेलकुद गतिविधि ठप्प रहेको छ ।
कोरोनाकै कारण एन्फाले चैतमा गर्ने भनिएको राष्ट्रिय महिला लिग स्थगित भएको थियो । एन्फाले राष्ट्रिय लिगलाई खेलाडी छनोटको रुपमा लिएको थियो ।
महिला लिगसँगै महिला टिमको मुख्य प्रशिक्षक नियुक्तिको प्रक्रिया समेत अवरुद्द भयो ।
एन्फाले मुख्य प्रशिक्षकका लागि केहि राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकको नाम चयन गरेको थियो । तर, मुख्य प्रशिक्षक घोषणा गर्न भने बाँकी रहेको थियो ।
एन्फाले मुख्य प्रशिक्षक चयनको प्रक्रिया अघि बढाएसँगै महिला खेलाडीमा नयाँ प्रशिक्षकबारे उत्सुकता र कौतुहलता बढेको छ ।
तर, महिला खेलाडी यस पटक भने विदेशी प्रशिक्षकबाट अनुभव लिन चाहन्छन् । महिला खेलाडीहरु एन्फाले विदेशी प्रशिक्षक ल्याईदियोस् भन्ने चाहन्छन् ।
‘नेपाली फुटबलले अहिलेसम्म विदेशी प्रशिक्षक पाएको छैन । मलाई लाग्छ विदेशी प्रशिक्षकको पनि अनुभव लिन पायौं भने महिला फुटबल राम्रो हुन्थ्यो कि,’ महिला राष्ट्रिय फुटबल टिमका सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी भन्छिन् ।
नेपाली महिला फुटबलको इतिहास धेरै लामो छैन । त्यसैले महिला फुटबलले अहिलेसम्म विदेशी प्रशिक्षक पाएको छैन ।
‘विदेशी प्रशिक्षक भयो भने धेरै राम्रो हुन्छ । अहिलेसम्म महिला फुटबलले पाएको राम्रो प्रशिक्षकहरु कुमार सर (कुमार थापा) र हरि सर (हरि खड्का) नै हुन् । उहाँहरुलेनै टिम यतिको राम्रो बनाउनु भयो,' राष्ट्रिय टिमका गोलरक्षक एन्जिला सुब्बा भन्छिन्, ‘अब हामीलाई विदेशी प्रशिक्षक भयो भने झनै राम्रो हुन्छ । केहि नयाँ सिकिन्छ ।’
यस पटक भने एन्फाले पहिलो प्राथमिकतामा विदेशी प्रशिक्षक राखेको छ । विदेशी प्रशिक्षक राख्ने विषयमा एन्फा सकारात्मक देखिएको छ ।
एन्फाले जापानका प्रशिक्षक नोरियो सुकितातेलाई पहिलो रोजाईमा राखेको छ । सुकितातेले यस अघि बंगलादेश महिला फुटबल टिम, भुटान पुरुष फुटबल टिम, गुवाम, लाओसको राष्ट्रिय पुरुष टिम, इष्ट टिमोरको यू-२३ र राष्ट्रिय टिम हेरिसकेका छन् ।
एन्फाले उनको विकल्पमा राष्ट्रिय टिमसमेत हेरिसकेका बाल गोपाल महर्जन, राजुकाजी शाक्य, राष्ट्रिय पुरुष टिमका सहायक प्रशिक्षक रहेका मेघराज केसी र किशोर केसीलाई राखेको छ ।
महिला खेलाडीलाई भने विदेशी प्रशिक्षकसँग फुटबलबारे थप ज्ञान लिने मन छ ।
‘विदेशी प्रशिक्षक आयो भने धेरै राम्रो हुन्थ्यो । अनुभवको आधारमा पनि विदेशी ल्याए केहि राम्रो गर्न सक्थ्यौं । विदेशीबाट केहि नयाँ सिक्न पाउथ्यौं,’ सिनियर टिमबाट खेलिसकेकी एक खेलाडी भन्छिन् ।