काठमाडौं । कोरोना भाईरसको महामारीको कारण विश्व खेलकुद ठप्प रहेको छ ।
नेपाली खेलकुद समेत त्यसमा अछुतो छैन । सरकारले कोरोनाबाट बच्न लकडाउन गरेसँगै खेलाडीहरु कोठाभित्रै रहन बाध्य भएका छन् ।
दैनिक मैदानमा देखिने खेलाडीले नियमित प्रशिक्षण गर्न पाएका छैनन् । कतिपय खेलाडीले समित स्रोतको बाबजुत घरमै सामान्य अभ्यास गरिरहेका छन् ।
लकडाउनको कारण नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य अनन्त तामाङ समेत घरमै अड्किएका छन् । तर, अनन्तले भने यस समयलाई सदुपयोग गरिरहेका छन् ।
डिफेन्डर अनन्त लकडाउनको समय खेलमा आफ्नो गल्तिहरु पहिचान गर्न लागिपरेका छन् ।
‘लकडाउनको कारण घरभित्र बसिरहेको छु । घरबाट बाहिर निस्केको छैन । यस अघिका खेल हेरिरहेको छु । आफ्नो गल्ति कहाँ भएको छ । कहाँ राम्रो भईरहेको छ । सेल्फ जानकारी लिरहेको छु,’ अनन्तले खेलपाटीसँग भने ।
सेन्टर डिफेन्डर अनन्तले आगामी विश्वकप छनोट खेलका लागि आफु मानसिक र शारिरीक रुपमा तयारी गरेर बसिरहेको समेत बताए ।
‘लक डाउनपछि विश्वकप छनोटका सबै खेल ‘होम’ मैदानमा हुने भएकाले शारिरीक र मानसिक रुपमा तयारी भैरहेको छु,’ थ्री स्टार क्लबका डिफेन्डर अनन्तले थपे ।
कोरोनाको महामारी अघि नेपालले विश्वकप छनोट अन्तर्गत चैतमा अष्ट्रेलिया र चाईजिन ताईपेसँग खेल्नुपर्ने थियो । तर, कोरोनाको कारण खेल अनिश्चितकालका लागि स्थगित भएको छ ।
पहिलो पटक फिफा विश्वकप छनोटको दोस्रो चरण खेल्न पाएको नेपालले अब ३ ‘होम’ खेल खेल्न बाकी रहेको छ ।
यस अघि छनोटमा ५ खेल खेलेको नेपालले तालिकामा ३ अंक जोडेको छ । चाईनिज ताईपेलाई पराजित गरेको नेपाल एसियाली पावरहाउस अष्ट्रेलिय, जोर्डन र कुवेतसँग पराजित भएको थियो ।
अब नेपालले अष्ट्रेलिया, चाइनिज ताइपे र जोर्डनसँग होम खेल खेल्नेछ ।
तर, घरमै बसिरहँदा अनन्तलाई फिटनेसको चिन्ताले सताएको छ । उनी राष्ट्रिय टिमका फिजियो आविस्कार पुडासैनीले दिएको निर्देशन पालना गर्दै अभ्यास भने गरिरहेका छन् ।
‘फिटमा रहँन अभ्यास गरिरहेका छु । हाम्रो टिमको फिजियो आविस्कार पुडासैनीको निर्देशन पालना गरिरहेको छु । उहाँले हरेक दिन मलाई एउटा नयाँ एक्सरसाइज ‘सेन्ड’ गर्दिनुहुन्छ । त्यसैलाई पालना गरिरहेको छु,’ अनन्तले भने ।
उमेर समूहमै आफुलाई प्रमाणित गरिसकेका अनन्तले सन् २०१५ मा राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । उमेर समूहको यू–१९ साफ च्याम्पियनसिप उपाधि दिलाएका अनन्तले नेपाललाई ४ प्रतियोगिताको उपाधि दिलाएका छन् ।
नेपालले एएफसी सोलिडारिटी, बंगबन्धु गोल्डकप, १२ औ र १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपाललाई स्वर्ण पदक जिताउँदा अनन्त टिमका महत्वपूर्ण खेलाडी थिए ।
गत फागुनमा सम्पन्न सहिद स्मारक ए डिभिजन लिगमा थ्री स्टार क्लबबाट खेलेका अनन्तले ४ गोल गरेका थिए । उनी उत्कृष्ट डिफेन्डर समेत भएका थिए ।