काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कान्छी गोलरक्षक हुन् अन्जना राना मगर ।
अन्जनाले १५ वर्षको उमेरमै राष्ट्रिय टिममा डेब्यु गरेकी थिईन् । त्यसैले पनि उनलाई कान्छी गोलरक्षक भनिन्छ ।
पछिल्लो समय अन्जना आर्मीको एक्लो गोलरक्षक हुन् । उमेर अपरिपक्व भएपनि एउटा गोलरक्षकमा हुनुपर्ने परिपक्कता उनीमा छ । जसले गर्दा आर्मीले उनलाई सानै उमेरमा आफ्नो गोलपोष्ट समाल्ने अधिकार दियो ।
६३ सालबाट घरेलु फुटबलमा चर्चामा आएकी हुन् अन्जना ।
गृहनगर रौतहटबाट मध्यमाञ्चलको पोष्ट समाल्न आएकी अन्जनाले आर्मीका तीन खेलाडीको पेनाल्टी बचाएपछि १४ वर्षको उमेरमै एकएक चर्चामा आएकी थिईन् । सानो उमेरमै आर्मीमा आफुलाई प्रमाणित गरेपछि उनलाई राष्ट्रिय टिममा स्थान बनाउन कुनै समस्या परेन ।
राष्ट्रिय टिममा गोलरक्षकको धेरै प्रतिस्पर्धा नहुनु पनि उनको लागि फाइदा रह्यो । त्यसैले पनि होला अन्जनाले नेपालको दोस्रो रोजाईमा आफुलाई स्थापित गरेकी छिन् । राष्ट्रिय टिमको दोस्रो नम्बरमा आफुलाई स्थापित गराईसकेकी अन्जनाले अब आफुलाई प्लेईङ सेटको लागि प्रमाणित गर्नु पर्ने समय आएको छ ।
विश्वभर फैलिएको कोरानो भाईरसको कारण भने अन्जना अहिले रौतहटमै रहेकी छिन् ।
कोरोनाको कारण विश्व खेलकुद डामाडोल रहेको छ । जसको असर नेपाली खेलकुदमा समेत परेको छ । नेपालमा पछिल्लो १ महिना यता लकडाउन रहेको छ । नेपालमा हालसम्म ४२ जनामा संक्रमण देखिएको छ ।
कोरोनाको कारण अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्न लागेको महिला लिग समेत प्रभावित बन्यो ।
लकडाउनको कारण अधिकांस महिला खेलाडी घरमै बसिरहेका छ । खेलाडीहरु मैदान पुग्न पाएका छैनन् । अन्जनाको पनि घरमै रहेर सेल्फ प्रशिक्षण गर्न बाध्य छिन् ।
‘लकडाउनको कारण घरमै छु । सेल्फ ट्रेनिङ गरिरहेको छु । साथीहरु नजिकै भएकाले केहि समय अभ्यास गर्छाै,’ नेपाली फुटबल फ्यान्स क्लबले आयोजना गरेको समर्थकसँगको फेसबुक लाईभमा अन्जनाले भनिन् ।
सन् २०१६ मलेसियाविरुद्ध एन्फा मैदानमा भएको मैत्रीपूर्ण खेलमार्फत राष्ट्रिय टिममा डेब्यु गरेकी अन्जना त्यसपछि राष्ट्रिय टिममा नियमित रहेकी छिन् ।
खेलको ७५ औं मिनेटमा पहिलो रोजाईकी गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बाको स्थानमा मैदान छिर्दै उनले डेब्यु गरेकी हुन् ।
४ वर्ष यता राष्ट्रिय टिममा रहेकी अन्जनाले राष्ट्रिय टिमको यात्रा निकैनै रमाईलो हुने गरेको बताउछिन् ।
‘सबै खेलाडी मिल्ने छौं । दिदिहरुपनि मिल्ने हुनुहुन्छ । यात्रा निकै रमाईलो छ,’ हाल आर्मी क्लबमा करारमा रहेकी अन्जनाले भनिन् ।
आर्मीमा जागिर खाने सोच बनाएकी अन्जना उमेरका कारण भने करारमा रहेकी हुन् हाल १८ वर्षमात्रै रहेकी अन्जना अब जागिर खाने सोचमा छिन् । एक समर्थकले गरेको प्रश्नमा उनले आर्मीको खेलाडी भएपनि बन्दुक भने आफुले नचलाएको प्रतिक्रिया दिएकी छिन् ।
‘भर्खरै १८ वर्षको भएको छु । करारमै छु । मैले बन्दुक चलाएको छैन । चलाउन पनि पर्दैन,’ उनले भनिन् ।
नेपालको यू-१५ महिला साफ च्याम्पियनसिप र एएफसी यू-१९ महिला च्याम्पियनसिपको दोस्रो चरण खेलेकी अन्जनाले आफ्नो आईडल नेपाली गोलरक्षक किरण चेम्जोङ र रोहित चन्दलाई मान्छिन् ।