काठमाडौं । पूर्व स्ट्राइकर हरि खड्का र निराजन रायमाझी नेपाली फुटबल इतिहासमा राष्ट्रको लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् ।
एक समयका अब्बल दुई स्ट्राइकरले राष्ट्रको लागि समान १३/१३ गोल गरेका छन् । जुन नेपालका लागि सर्वाधिक गोलको कीर्तिमान हो ।
नेपाली फुटबलको इतिहासमा दुई खेलाडीको नाम सधै चर्चामा रहन्छ । किनकि दुई खेलाडीको बर्हिगमनपछि पनि अन्य स्ट्राइकरले उक्त कीर्तिमानमा बराबरी र त्यसलाई पछाडी पार्न सकेको छैन ।
नेपाली फुटलबको ११ वर्षे यात्रामा हरिले १३ गोल गरेका हुन् । उनले सन् १९९५ बाट २००६ सम्म नेपाली टिमबाट खेलेका थिए ।
यस्तै निराजनले सन् २००२ बाट २०१० सम्म नेपाली टिमबाट खेलेका थिए । छोटो समय नेपाली टिमबाट खेलेका निराजनले जम्मा २० क्याप जित्दै १३ गोल गरेका थिए । यता, हरिले भने ४१ क्याप जितेका छन् ।
तर, पछिल्लो पुस्ताका खेलाडीले ५० क्याप पुरा गर्दापनि १३ गोलको आँकडा भेट्न सकेका छैनन् । पूर्व कप्तान अनिल गूरुङ, जुमानु राई र भरत खवासले ५० क्याप जितेपनि १३ गोल पुरा गर्न सकेका छैनन् ।
कुनै समय यसको हकदार अनिल गुरुङ र जुमानु राई देखिएपनि दुवै खेलाडीमा निसिङ र स्कोरिङमै समस्या देखियो ।
कमै मात्रको प्रतियोगिता र मैत्रीपूर्ण खेलसँगै यी खेलाडीले पनि हरि र निराजनको कीर्तिमान भंग गर्न असमर्थ देखिएका थिए । राष्ट्रिय टिमको कप्तान समेत रहेका अनिल गुरुङले ९ गोल मात्रै गरेका छन् । उनले अन्तराष्ट्रिय खेल जीवनबाट सन्यास घोषणा गरिसकेका छन् ।
कीर्तिमानी १३ गोलको आँकडा नजिक रहेका जुमानु राई हुन् । तर, उमेरका कारण उनी पनि त्यसबाट टाढा रहिसकेका छन् । आफ्नो नाममा ११ गोल रहेपनि जुमानु धेरै समयबाट राष्ट्रिय टिमबाट बाहिर रहेका छन् ।
सन् २०१५ यता जुमानु टिम बाहिर छन् । तर, उनले संन्यास लिएका छैनन् ।
वर्तमान राष्ट्रिय टिममा १३ गोलको कीर्तिमान तोड्न सक्ने दुई खेलाडी रहेका छन् । राष्ट्रिय टिमका स्ट्राइकरद्वय भरत खवास र विमल घर्ति मगरलाई उक्त अवसर रहेको छ ।
पहिलो स्थानमा भरत रहेका छन् भने दोस्रो स्थानमा विमल छन् । भरतले १० गोल गरेका छन् भने विमलले ८ गोल गरेका छन् ।
भरत पछिल्लो समय विभागको तालिमका कारण टिम बाहिर रहेका छन् । कहिले देश बाहिर त कहिले विदेशी तालिमका कारण भरत टिम बाहिर रहँदै आएका छन् ।
पछिल्लो तथ्याङ हेर्दा भरतले दुई वर्षयता १ खेलमात्रै खेल्ने मौका पाएका छन् । ७५ सालमा बंगलादेशमा भएको साफ यता भरतले थाईल्याण्ड प्रशिक्षणमा रहँदा कुवेतसँग भएको होम खेल (भुटानमा भएको ) मात्रै खेलेका छन् ।
यस्तै १३ गोलको कीर्तिमान तोड्ने खेलाडीको रुपमा हेरिएका अर्का खेलाडी हुन् विमल । उमेर समूहमा निकैनै लयमा देखिएका विमल पछिल्लो समय अनुशासनको कारण टिम बाहिर रहँदै आएका छन् । अनुशासनबाट पूर्ण रुपमा विमलले आफुलाई सुधार गरे उनी यसको हकदार हुन् ।
भरत खवास –
भरतले सन् २००८ बाट नेपाली राष्ट्रिय टिमबाट खेल्न थालेका हुन् । तत्कालिन समय नेपालले पोखरामा पाकिस्तानविरुद्ध २ मैत्रीपूर्ण खेल खेलेको थियो । भरतले आफ्नो डेब्यु खेलमै गोल गरेका थिए ।
हाल आर्मी क्लबका कप्तान समेत रहेका भरतले नर्दन मारियाविरुद्ध ह्याट्रिक गरेका थिए ।
भरतले साउथ एसियन प्रतिद्वन्दि पाकिस्तानविरुद्ध २ गोल गरेका छन् । यस्तै अफगानिस्तान, बंगलादेश, जोर्डन, ब्रुनाई र भुटानविरुद्ध १–१ गोल गरेका छन् ।
विमल घर्ति मगर –
विमलले १४ वर्षको उमेरमै राष्ट्रिय टिमबाट डेब्यु गर्ने अवसर पाएका थिए । सन् २०१२ बंगलादेशविरुद्ध भएको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टिमका डेब्यु गरेका विमलले सन् २०१३ पाकिस्तानविरुद्ध गोल गर्दै सनसनी मच्चाएका थिए ।
त्यसयता उनले नेपाली टिमबाट ८ गोल गरिसकेका छन् । विमलले पाकिस्तानविरुद्ध २ गोल गरेका छन् भने भारत, श्रीलंका, ब्रुनाई, लाओस्, ताजकिस्तान, र बंगलादेशविरुद्ध १–१ गोल गरेका छन् ।