काठमाडौं । नेपाली यू–१५ टिमकी कप्तान हुन् प्रिती राई । पछिल्लो समय महिला फुटबलले पाएको प्रतिभावान खेलाडीमा पर्छिन् प्रिती ।
महिला फुटबलमा बलियो टिम हो विभागीय एपीएफ । नेपाली राष्ट्रिय फुटबलमा जति स्टार छन् प्राय एपीएफमै छन् । एक प्रकारले एपीएफनै राष्ट्रिय टिम हो भन्दा फरक पर्दैन ।
महिला फुटबलमा जति स्टार आउँछन् । सबैलाई एपीएफलेनै कब्जा जमाउँछ ।
महिला फुटबलको उदाउँदो स्टार प्रितीलाई पनि क्लबमा भित्र्याउन सफल भएको छ एपीएफ ।
स्टार खेलाडीकाबीच स्टार बन्ने दाउमा रहेकी प्रिती सुरुवाती ६ महिना एपीएफमा बस्ने पक्का भएको छ । उमेरले १५ वर्षमात्रै रहेकी प्रितीले ६ महिनाको लागि एपीएफसँग सम्झौता गरेकी छिन् ।
‘अबको ६ महिना एपीएफबाट खेल्ने निर्णय गरेको छु,’ गत फागुन २० गते एपीएफसँग सम्झौता गरेकी प्रितीले भनिन् ।
कोरोना भाईसरको कारण अहिले विश्व खेलकुद ठप्प छ । त्यसबाट नेपाल अछुतो छैन । नेपालमा पनि लकडाउन भएको करिब १ महिना पुगिसकेको छ । जसका कारण सम्पूर्ण खेलकुद गतिबिधि ठप्प छन् ।
खेलाडीहरु दैनिक अभ्यासबाट बञ्चित छन् । गाउँमा रहने खेलाडी नजिकै मैदानसम्म पुगेर अभ्यास गर्न पाएपनि उपत्यकामा रहेका खेलाडी भने घरमै बसेर सेल्फ तयारीमा गर्न बाध्य छन् ।
यू-१५ टिमकी कप्तान प्रिती समेत लकडाउनको कारण घरमै सामान्य अभ्यासमा बस्न बाध्य भएकी छिन् ।
‘घरभित्रै रहेकी छु । बिहान वर्क आउट गर्छु । हल्का सेल्फ अभ्यास हुन्छ । त्यसपछि फ्रिनै हुन्छु । काम केहि छैन । यतिकै बसिन्छ,’ नेपाली फुटबल फ्यान्स क्लबले गरेको फेसबुक लाईभमा काठमाडौं कपनकी प्रितीले भनिन् ।
गत दक्षिण एसियाली खेलकुद सागमा नेपालले रजत पदकमा चित्त बुझाउँदा प्रिती क्लोज क्याम्पमा रहेकी थिईन् । पछिल्लो समय उमेर समूहबाट राष्ट्रिय टिमको क्लोज क्याम्पमा रहने प्रिती एक्ली खेलाडी समेत हुन् ।
तर, उमेर समूहको साफ च्याम्पियनसिप खेल्न भुटान पुग्दा प्रितीले राष्ट्रिय टिममा पर्ने अवसर गुमाएकी थिईन् ।
यू-१५ साफमा महिला टिमको लागि सुखद रहेन । यता स्वदेश फर्किएपछि प्रितीको लागि पनि सुखद भएन ।
प्रिती भुटान पुग्दा क्लोज क्याम्पको लागि राष्ट्रिय टिम पोखरा पुग्यो । तर, उमेर समूह र राष्ट्रिय टिमका ब्यवस्थापनको गम्भिर भुलका कारण प्रितीको पहिलो पटक राष्ट्रिय टिमबाट खेल्ने सपना तुहिएको थियो । तत्कालिन समय टिममा रहँदा पनि पोखराबाट ब्यवस्थापकले कुनै जानकारी नदिँदा प्रिती अन्तिम नाम सार्वजनिक हुनु अघिनै काठमाडौंमा रहन पुगिन् ।
होचो कदकी प्रितीलाई अब अर्काे अवसर रहेको छ । उमेरले परिपक्व नभैसकेकी उनलाई अबका दिनमा एपीएफमा परिपक्व र आफुलाई प्रमाणित गर्ने अवसर रहेको छ । स्टार खेलाडीबीच उनले आफुलाई प्रमाणित गर्नुपर्छ ।
‘अबको समय भनेको एपीएफमा आफुलाई प्रमाणित गर्छु । मेन टार्गेट भनेकै एपीएफमा राम्रो गरेर नेस्नल टिमबाट खेल्ने हो । मेहनत पुगेको छैन । अझै धेरै गर्नुछ,’ अट्याकिङ मिडफिल्डर प्रितीले भनिन् ।
यसअघि एपीएफमा युवा स्टार बेन्चमै सिमित भएका कैयौ उदाहरण रहेका छन् । जसकै कारण रेखा पौडेलले एपीएफ छाड्न पुगेकी थिईन् ।
स्टार खेलाडीहरु साबित्रा भण्डारी, अनिता बस्नेत, रेनुका नगरकोटी, सरु लिम्बु, अनिता केसी, अनु लामा लगायतको अग्रपंक्ति बलियो रहँदा प्रितीलाई प्लेईङ सेटमा खेल्नु ठुलै चुनौती रहेको छ । यसको बाबजुद उनले आफुलाई प्रमाणित गर्ने समय आएको छ ।