काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिगको दौरान त्रिभुवन आर्मी क्लबका स्ट्राइकर भरत खवासका छोरी स्वर्णिका खवास सधै मैदान आउने गर्थिन् ।
तर, एक दिन आर्मीको लिग खेल बिहान पौने ९ बजे पर्यो । बिहानै खेल परेपछि परिवारबाट भरतको छोरीलाई मैदान ल्याउने मान्छे भएन । त्यहि दिन भरतले शीर्ष डिभिजन लिगमा करियरको ५० औं गोल पुरा गरे ।
ब्रिगेड ब्वाईजविरुद्ध ५ औं मिनेटमा गरेको गोल भरतले सधै आफ्नो खेल हेर्न आउने छोरी स्वर्णिकालाई समर्पित गरे ।
‘अरुसमय सधै खेल हेर्न आउने छोरी आजनै भनै आएको छैन । यो ५० गोल छोरीकै लागि समर्पण गर्छु,’ खेलपछि भरतले भनेका थिए ।
नेपाल आर्मीका उपसेनानी समेत रहेका भरत अहिले विश्वभर फैलिएको कोराना भाईरसका कारण लकडाउनमा छन् । यस समय भरत विभागको ड्युटीमा गएका छैनन् । तर, विभागले आवश्यकता अनुसार बोलाउने भनेपछि त्यसका लागि उनी तयारी अवस्थामा छन् ।
तत्कालै ड्युटीमा जानु नपर्दा भरत लकडाउनको समय छोरी स्वर्णिका र परिवारलाई समय दिएर बसिरहेका छन् ।
‘सुरक्षित रहँन घरमै बसिरहेको छु । ड्युटीमा जानु परेको छैन । अहिले छोरी स्वर्णिका खेलेर दिन बितिरहेको छ । उसलाईनै समय दिएको छु । फिल्म हेर्दै दिन कटाउने गरेको छु,’ राष्ट्रिय फुटबल टिमका स्ट्राइकर समेत रहेका भरतले भने ।
२९ वर्षे भरत अहिले सेल्फ अभ्यास गर्दै आफ्नो फिटनेसलाई समेत ध्यान दिईरहेका छन् । मैदान उत्रन नपाएका उनी घरमै सेल्फ तयारी गरिरहेका छन् ।
‘मैदान जान त पूर्ण रुपमा बन्दनै छ । आफ्नै सुरक्षाको लागि पनि जानु हुँदैन । यो समय धैर्यता पनि चाहिन्छ । ज्यानै भएन भने फुटबलको के महत्व । त्यसैले अहिले घरमै सेल्फ तयारी गरिरहेको छु,’ लगातार दोस्रो पटक 'ए' डिभिजन लिगमा उत्कृष्ट स्ट्राइकर चुनिएका भरतले भने ।
भरत राष्ट्रिय टिमका नियमित सदस्य समेत हुन् । सन् २००८ मा पाकिस्तानविरुद्ध डेब्यु गरेका भरत त्यस यता राष्ट्रिय टिममा छन् । भरतले राष्ट्रिय टिमबाट १० गोल गरिसकेका छन् । भरत अर्का स्ट्राइकर जुमानु राईको नाममा रहेको ११ गोललाई उछिन्ने योजनामा रहेका छन् ।
विभागीय टिम नेपाल पुलिस क्लबबाट 'ए' डिभिजन लिगको उपाधि हात पारेपनि भरतले आर्मीबाट भने लिगको उपाधि हात पार्न सकेका छैनन् ।
यस पटक सो अवसर आर्मीलाई रहेपनि अन्तिममा पुगेर चुकेको थियो । अन्तिम खेलमा मछिन्द्रविरुद्ध बराबर पर्याप्त रहेपनि आर्मी आत्मघाती गोलको कारण उपाधिबाट विमुख भएको थियो ।
दैनिक मैदानमा व्यस्त रहने भरत मैदान उत्रने अवसरको पखाईमा छन् ।
‘मैदान बाहिर भएको धेरै भयो । खेल्न नपाउँदा सकसक भैरहेको छ,’ भरत भन्छन् ।
भरतले आफ्नो शुभेच्छुकलाई लकडाउनको समय सरकारले राखेको नियमको पालना गर्न र आफ्नो स्वास्थ्यको ख्याल गर्न अनुरोध गरेका छन् ।