काठमाडौं । रवि पासवान नेपाली फुटबलमा तीव्र गतिका फुटबलर भनेर चिनिन्छन् ।
बारामा जन्मिएका रवि एन्फा एकेडेमीका खेलाडी हैनन् । उनले नेपालका कुनै पनि उमेर समूहबाट खेलेनन् । नेपाली फुटबलले रविलाई सिधै राष्ट्रिय टिममा पाएको हो ।
आधुनिक फुटबललाई फिटनेसको खेल पनि भनिन्छ । खेलाडीसँग फुटबल स्किलसँगै फिटनेसको समेत आवश्यकता पर्छ । जस्ले एकै स्तरमा पुरा समय मैदानमा खेल्न सक्छन् उनै पूर्ण खेलाडीको हकदार बन्छ । मध्ये तराई बाराका रविमा पनि यी खुबी भेटिन्छ ।
सोझो र कम बोल्ने स्वभावका रवि राष्ट्रिय टिममा पूर्ण फिटनेस भएको खेलाडीको दोस्रो स्थानमा आउँछन् ।
व्यवसायिक फुटबलका लागि इन्डोनेशियाको जाकर्ताबाट खेल्ने मिडफिल्डर रोहित चन्दपछि रनिङ र फिटनेसका कोहि उत्कृष्ट छ भने त्यो रवि हो ।
तर, विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण रविले मैदानमा नियमित रुपमा अभ्यास गर्न पाएका छैनन् । उनि आफ्नो फिटनेसलाई ध्यान दिँदै बिहान र साँझ सुरक्षित तरिकाले सेल्फ अभ्यास भने गरिरहेका छन् ।
कोरोनाकै कारण रवि ‘लकडाउन’ मा छन् । जसले गर्दा उनि घरबाट निस्कने अवस्थामा छैनन् । नेपाल सरकारले गरेको लकडाउन तेस्रो हप्तामा प्रवेश गरिसकेको छ ।
सरकारले गरेको लक डाउनको पालना र स्वास्थ्यको ख्याल गरि सेल्फ क्वारेन्टाईनमा बस्दा रविले आफ्नो नियमित अभ्यास गर्न पाएका छैनन् ।
त्यसैले रवि आफ्नो फिटनेस गुम्ने त हैन भन्नेमा चिन्तित छन् ।
‘कोरोनाले धेरैनै गार्हो बनाएको छ । अन्य समयको जस्तो फिटनेसमा निरन्तरता दिन सकेको छैन । सुरक्षित ट्रेनिङ दैनिक गरिरहेको छु,’ नेपाल पुलिस क्लबका रविले भने ।
घरेलु फुटबलमा आफ्नो प्रभाव छाडिसकेका रविले राष्ट्रिय टिममा गत वर्ष मात्रै स्थान बनाए । स्विडिस प्रशिक्षक जोहान कालिन नेपाल उत्रिए लगत्तै रविको खेलबाट प्रभावित भए र राष्ट्रिय टिमको क्लोज क्याम्पमा बोलाए । कालिनले आफ्नो पहिलो वैदेशिक भ्रमणमानै रविलाई स्थान दिए ।
रविले गत चैत ७ गते कुवेतविरुद्ध भएको मैत्रीपूर्ण खेलको दोस्रो हाफमा मैदान छिर्दै राष्ट्रिय टिममा डेब्यु गरे । त्यस यता रवि निरन्तर राष्ट्रिय टिममा रहेका छन् ।
रविले राष्ट्रिय टिमबाट नियमित ९ क्याप जितिसकेका छन् । राष्ट्रिय टिमका लागि गोल गर्न नसके पनि रवि टिमका निकै महत्वपूर्ण खेलाडी गनिन्छन् ।
रवि विदेशी प्रशिक्षक कालिनका प्रिय पात्र समेत हुन् । कालिनले खेलाएका ९ खेलमा रविले ८ खेलमा प्लेईङ सेटमा रहेर खेलेका छन् ।
तर, अहिलेको अवस्थामा भने रवि कतै मैदान छिर्दा खेल्न गाह्रो हुने त हैन ? कतै पुरानो स्पिडलाई निरन्तरता दिन सकिँदैन कि भन्ने डरमा छन् ।
‘कहिले लक डाउन सकिएला र ग्राउण्ड गएर खेल्न पाउँला जस्तो भएको छ । कतै लाग्छ, एकै पटक ग्राउण्ड जाँदा अलि गाह्रो हुन्छ कि भन्ने सोच पनि आउँछ,’ मनाङ मर्स्याङ्दीबाट व्यावसायिक फुटबल यात्रा सुरु गरेका रवि भन्छन् ।