काठमाडौं । भलिबलको विश्व वरियतामा नेपालको महिला भलिबल टिम यथावत रहन सफल भएको छ ।
अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभीबी) ले बिहिबार सार्वजनिक गरेको विश्व वरीयतामा नेपाल यथावत रहदै ८६ औं स्थानमा रहेको हो ।
नयाँ वरीयतामा नेपालको ५७ अंक रहेको छ । एफआइभीबीले अन्तर्राष्ट्रिय सहभागिता र सफलताका आधारमा विश्व वरीयता निर्धारण गर्दै आएको छ ।
नेपाली महिला भलिबल टोलीले घरेलु भूमिमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) पछि कुनैपनि प्रतियोगिता खेलेका छैनन् ।
नेपालको महिला टिम एसियाली राष्ट्रको वरियतामा भने १७ औं स्थानमा रहेको छ ।
महिलाको विश्व वरीयताको शीर्ष स्थानमा चीन रहेको छ । यस्तै दोस्रो अमेरिका, ब्राजिल तेस्रो, इटाली चौथो र टर्की पाँचौं स्थानमा छन् ।
पुरुषतर्फ भने नेपाल शीर्ष १०० भित्र अटाएका छैनन् । नेपालको वरियता १ सय ३६ औं स्थानमा रहेको छ । नेपालको ५० अंक रहेको छ ।
पुरुषको वरियतामा ब्राजिल शीर्ष, पोल्याण्ड दोस्रो,अमेरिका तेस्रो, रुस चौथो र अर्जेन्टिना पाँचौ स्थानमा छन् ।
एसियाको वरियतामा नेपालको पुरुष टिम २७ औं स्थानमा रहेको छ ।