एजेन्सी । रोजर फेडेरर र उनकी श्रीमती मिर्काले स्विटजरल्याण्डका विपन्न परिवारलाई एक मिलियन स्विस फ्रांक सहयोग गरेका छन् । उनीहरुले आर्थिक अवस्था कमजोर भएका परिवारलाई सहयोग गर्न अपिल गरेका छन् ।
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण स्विटजरल्याण्डमा नीजी र सार्वजनीक कार्यक्रम बन्द छन् । यस्तै अत्यावश्यक बाहेक सम्पूर्ण व्यापार ब्यवसाय अप्रिल १९ सम्मका लागि बन्द छन् ।
सोही कारण कोरोनाबाट प्रभावित परिवारका लागि फेडेरर दम्पत्तिले आर्थिक सहयोग गरेका हुन् ।
'यो सबैका लागि चुनौतीपूर्ण समय हो । कोही पछाडी हट्ने समय हैन ।' उनले भनेका छन् ।
'हाम्रो सहयोग सुरुवात मात्र हो ।' फेडेररले भने, 'आशा गर्छौ, अरु सहयोग समेत जोडिनेछन् । धेरै परिवारलाई यसको आवश्यकता छ । हामी संयुक्त रुपमा यो संकटबाट बाहिर आउनु पर्छ ।'
२० पटकका ग्रान्डस्लाम विजेता फेडेररले कठिन समयमा कोरोनाबाट प्रभावित आर्थिक अवस्था कमजोर भएका मानिसका लागि सहयोग रकम उपलब्ध गराएका हुन् ।
पछिल्लो हप्ता विमल्डन च्याम्पियन सिमोना हालेपले आफ्नो देश रोमानियामा चिकित्सा उपकरण खरिदका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेकी थिईन् ।