काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोराना भाईरस (कोभिड१९) का कारण अहिले विश्व खेलकुदनै आक्रान्त बनेको छ । जसका कारण विश्वभरका खेल गतिविधि प्रभावित बनेको छ । चीनको बुहान शहरबाट सुरु भएको भाईसरले अहिले एसियासँगै युरोपियन राष्ट्र हुँदै अमेरिका पुगिसकेको छ । जसका कारण हजारौले ज्यान समेत गुमाएका छन् ।
जसको प्रभाव सबैभन्दा धेरै खेलकुदमा देखिएको छ । विश्व अर्थतन्त्र धरासायी बनिरहदाँ खेलकुद क्षेत्रपनि यसबाट अछुतो रहने कुरै भएन । हाल कोरोनाले विश्व अर्थतन्त्रमा पुर्याएको सबैभन्दा नोक्साननै खेलकुद हो ।
कोरोनाकै कारण सबैभन्दा धेरै प्रभाव फुटबलको सर्बाेच्च संस्था (फिफा) र अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)लाई बनाएको छ ।
यस्तै, चार बर्षमा आयोजना हुने ओलम्पिकलाई समेत यसले प्रभावित बनाउने अनुमान छ । यसको संक्रमणबाट बच्न अहिले युरोपका प्रतिष्ठित फुटबल लिगहरु च्याम्पियन्स लिग, युरोपा लिग, इन्ल्याण्डको सबैभन्दा चर्चित लिग इपीएलसँगै इटाली सिरि ए, फ्रान्सको आई लिग, स्पेनको ला लिगा स्थगित भएका छन् ।
नेपालमा कोरोनको संक्रमण नदेखिएपनि यसबाट टाढा रहन सरकारी स्तरबाटनै जम्काभेट, सार्वजनीक कार्यक्रम लगायत सभा, सम्मेलन कार्यक्रमलाई प्रतिबन्ध लगाईएको छ । यसबाट खेलकुद गतिबिधि टाढा रहने कुरै भएन ।
खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्नो संघहरुलाई खेलकुद गतिबिधि रोक्न र आयोजना नगर्न निर्देशन दिईसकेका छन् ।
नेपालकै सबैभन्दा ठुलो खेलकुद संस्था अखिल नेपाल फुटबल संघ (एन्फा)का फुटबल कार्यक्रम कोरोनाबाट प्रभावित बनेका छन् ।
कोरोनाकै डरका कारण एन्फाले राष्ट्रिय फुटबल टिमको आगामी फिफा विश्वकप छनोटको तयारी कार्यक्रम रोकेको छ । यस्तै महिला लिग, सी डिभिजन लिग सहित राष्ट्रिय लिगलाई समेत यथास्थितीमा राखेको छ । मोफसलमा गोल्डकपको सिजन भर्खरै सुरु भएको छ । तर एन्फाले सम्बन्धित जिल्ला संघलाई पत्रचार गर्दै खेलकुद गतिविधि रोक्न निर्देशन दिएको छ ।
कोरोनाको कारण मोफसलमा अन्तिम तयारी अवस्थामा रहेका फुटबल प्रतियोगिता स्थगित गर्नुपर्याे । चितवनको क्याम्पाचौरमा सिठीमात्रै फुग्ने अवस्थामा पुगेको भरतपुर गोल्डकप अन्तिम समयमा रोक्नुपर्याे । जसका कारण आयोजकलाई निकैनै समस्यामा पारेका छ ।
‘सबै तयारी गरिसकेका थियौ । सिठी फुक्न मात्रै बाकी थियो । तर कोरोनाकै कारण प्रतियोगिता प्रभावित भयो ।’ भरतपुर गोल्डकपका टेक्निकल डाईरेक्टर प्रकाश भुजेलले भने ।
कोरोनाकै कारण आयोजकलाई खोजेका प्रायोजक फुस्किने डर छ । ‘प्रायोजक सबै तयार थियो । कोरोना कहिले सकिन्छ भनेर कुरेर बसेका छौं ।’ एन्फा राष्ट्रिय रेफ्रिसमेत रहेका भुजेलले भने ।
एन्फाले हाल सहिद स्मारक बी डिभिजन लिगलाई भने स्थगित गरेको छैन ।
उसले लिगमा खासै दर्शकको संख्या बाक्लो नभएको र नेपालमा संक्रमण नफैलिसकेको भन्दै नरोकेको हो । उसको संक्रमण फैलिएको अवस्थामा भने बी डिभिजन रोकिने बताएको छ ।
नेपाली फुटबल कोरोनाबाट लगभग ठप्प हुने अवस्थामा पुगेको छ । कुनै समय आन्तरिक राजनीतिले ठप्प भएको फुटबल लामो समयपछि कोरोना भाईरसले ठप्प हुने स्थितीमा पुगेको हो ।
‘नेपाली फुटबलमा तालिकामा कोरोनाले ठुलो समस्या पारेको छ । मोफसल लगायत प्रदेश लिग, राष्ट्रिय लिग, महिला लिग सबै प्रभावित बनायो । नेपाली फुटलल एक प्रकारले ठप्पै बनायो ।’ एन्फा प्रवक्ता किरण राई भन्छन् ।
तर एन्फा भने कोरोनाको कारण खेलकुद गतिबिधि रोकिएपनि टेक्निकल र पुर्वाधारका कार्यहरुलाई अगाडि बढाउने तयारीमा छ । ‘अहिले सबै गतिबिधि रोकिएको अवस्थामा पनि पुर्वाधारका काम र टेक्निकल कार्यलाई अगाडि बढाउँछौं । यो रोकिएका कामको सदुपयोग गर्ने समय पनि हो ।’ उनी भन्छन्, ‘चाँडै सहज अवस्था बन्छ भन्ने आशा छ । त्यहि अनुसार गतिबिधि बढाउँछौं ।’
हुन त मानिसको स्वास्थ्य भन्दा खेलकुद ठुलो हुन सक्दैन । तर कोरोनाको प्रभावले विश्व खेलकुदसंगै घरेलु खेलकुद समेत नराम्ररी पिसिएको छ ।