काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिगको चौंथो चरण अन्तर्गत मंगलबार बाँसबारी क्लब र रानी पोखरी कर्नर टिम (आरसिटी) बीचको खेल चलिरहेको थियो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेलको पहिलो हाफमै ६ पटकको 'ए' डिभिजन लिग च्याम्पियन आरसिटीले अग्रता बनायो ।
आरसिटीका सिशस थापाले २४ औं मिनेटमा करिब ३५ यार्ड टाढाबाट गोल गर्दै टिमलाई अग्रता दिलाए ।
पहिलो हाफमा बल पोजिसन बनाएपनि आरसिटीको आक्रमक फुटबलले बाँसबारी केहि अत्तालिएको थियो ।
तर, खेलको ५१ औं मिनेटमा बाँसबारीका अमृत गुरुङले गोल गर्दै खेल बराबरीमा ल्याए । अमृत श्रेष्ठले प्रहार गरेको फ्रिकिकलाई आरसिटीका डिफेन्डरले क्लियर गरेपनि रिवाउण्ड बललाई डिबक्स बाहिरबाट अमृतले उत्कृष्ट गोल गरे ।
जब अमृतले गोल गरे । बाँसबारीका एक उत्साहित समर्थक भने दर्शक दिर्घाबाट जाली नाघ्दै सेलिब्रेसन गर्न मैदान पुगे । गोल लगत्तै बाँसबारीका खेलाडी मैदानको दाँया कर्नरमा सेलिब्रेसन गरिरहदा एक दर्शक भने जाली नाघ्दै मैदान पुगेका थिए ।
भिआईपी प्यारापिटको आफ्नै प्लेयर बक्स (बाँसबारी) बाट मैदानमा हाम फालेका उनले मैदानमा रमाउँदै पास उपलब्ध गराउने अमृत श्रेष्ठसँग अंगालो मारेका थिए ।
बाँसबारीको ट्रयाकसहित मैदान प्रवेश गरेका उनलाई पछि फोर्थ रेफ्री, टिम अफिसियल र मैदान सुरक्षाकर्मीले बाहिर निकालेका थिए ।
दर्शकको यस्तो हर्कतसँगै पुनः एक पटक एन्फाको मैदान सुरक्षालाई ठाडै चुनौती दिएको छ । 'ए' डिभिजन लिगमा एन्फाले मैदान सुरक्षामा कडाई गरेपनि 'बी' लिगमा भने त्यसलाई महत्व दिएको छैन ।
जाली नाघ्दै मैदान पसेका दर्शकलाई बाहिर निकालेपछि पुन: खेल सुचारु भएको थियो । र, खेलको ७६ औं मिनेटमा सजिन थापा मगरले गोल गर्दै बाँसबारीलाई लगातार चौंथो जित दिलाए ।
आरसिटीमाथिको जितसँगै बाँसबारी लिगको दोस्रो स्थानमा समेत उक्लिएको छ ।