काठमाडौं । एपीएफका विजय थापा र राजकुमार निरौलाको जोडी न्युटन–बाग्लुङ कप टु ए साइड पुरुष खुला भलिबल प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
बालुवाटरस्थित आयोजक न्युटन हाइ स्कुलमा भएको खेलमा विजय र राजको जोडीले छन्त्याल समाज म्याग्दीका महेन्द्र छन्त्याल र दीपक केसीको जोडीलाई २५–२२ र २५–२० को सोझो सेटमा पराजित गरे ।
स्याङजाका सन्जुविक्रम शाह र होम पुनको जोडीले आरजे भलिबल क्लकका प्रिन्स मगर र मनीष मल्लको जोडीलाई २५–१८ र २५–२३ को सीधा सेटमा हराउदै सेमिफाइनलमा स्थान पक्का गरे ।
प्रतियोगितामा १६ टिमको सहभागिता रहने आयोजक न्युटनका प्रिन्सिपल समेत रहेका नेपाल विद्यालय भलिबल कमिसनका अध्यक्ष राम केसीले जनाएका छन् ।
विजेताले ७० हजार ७ सय ७७ रुपैयाँ, उपविजेताले ४० हजार ४ सय ४४ रुपैयाँ र तेश्रोले २० हजार २ सय २२ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् ।
उत्कृष्ट खेलाडीलाई ३ हजार ५ सय नगदबाट पुरस्कृत गरिने छ । प्रतियोगिता शनिबार सम्पन्न हुने छ ।