काठमाडौं । छैटौं संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लबकी उषा भण्डारी सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन् ।
नेपालगञ्ज कर्भडहलमा बुधबार पुलिसलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रर्दशन गरेकी उषा सर्वोत्कृष्ट घोषित भएकी हुन् । सर्वोत्कृष्ट खेलाडी भएसँगै उषाले नगद १० हजार प्राप्त गरिन् ।
यस्तै, प्रतियोगितामा उत्कृष्ट सर्भर पुलिसकी मनिषा चौधरी, उत्कृष्ट सेटर पुलिसकी कमला पुन, उत्कृष्ट ब्लकर आर्मीकी संगम महतो चुनिए ।
यसैगरी उत्कृष्ट लिब्रोमा न्यु डाइमण्डकी सलिना श्रेष्ठ, उत्कृष्ट स्पाइकर एपीएफकी निरुता थगुन्ना र उत्कृष्ट प्रशिक्षक पुलिसका रुपेश कुमार विष्ट चुनिए । उत्कृष्ट हुने सबैले नगद ५–५ हजार प्राप्त गरे ।
लामो समयदेखि उपाधिमा आफ्नो वर्चस्व कायम गरेको एपीएफलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले यस प्रतियोगिताको उपाधि जितेको छ ।
उपाधि जितेसँगै पुलिसले नगद २ लाख प्राप्त गर्दा एपीएफले १ लाख प्राप्त गर्यो ।
यस्तै, विभागीय टिम आर्मीले न्यु डाइमण्डलाई ३–० को सोझो सेटमा हराउदै तेस्रो स्थान हासिल गरेको छ । तेस्रो भएसँगै आर्मीले ५० हजार रुपैयाँ प्राप्त गर्यो ।