काठमाडौं । नेपाल पुलिस क्लबले छैटौं संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
नेपालगञ्ज कर्भडहलमा बुधबार भएको फाइनलमा साविक विजेता एपीएफ क्लबलाई ३-० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो ।
मुख्य स्पाइकर सरस्वती चौधरी र नेविका चौधरी बिना प्रतियोगिता खेलेको एपीएफलाई पुलिसले २५-१६, २५-१७ र २५-१८ को सेटमा पराजित गर्यो । सरस्वती र नेविका चोटका कारण टिम बाहिर रहेकी छिन् ।
उपाधिसँगै पुलिसले २ लाख प्राप्त गरेको छ । एपीएफले भने १ लाखमा चित्त बुझायो ।
प्रतियोगितामा त्रिभुवन आर्मी क्लब तेस्रो भयो । आर्मीले ५० हजार प्राप्त गरेको छ ।
बुधबार नै भएको खेलमा होङग्वान्जी न्यु डाईमण्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै आर्मी तेस्रो भएको हो ।
तेस्रो स्थान हासिल गर्ने क्रममा आर्मीले न्यु डाईमण्डलाई २५–२१, २५–२० र २५–२० को सेटमा हराएको थियो ।
बाँके जिल्ला भलिबल संघले आयोजना गरेको प्रतियोगितामा पाँच टोलीको सहभागिता रहेको थियो ।