काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लब छैटौं संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा तेस्रो भएको छ ।
नेपालगञ्ज कर्भडहलमा बुधबार भएको खेलमा होङग्वान्जी न्यु डाईमण्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै आर्मी तेस्रो भएको हो ।
तेस्रो स्थान हासिल गर्ने क्रममा आर्मीले न्यु डाईमण्डलाई २५–२१, २५–२० र २५–२० को सेटमा हरायो ।
तेस्रो भएसँगै आर्मीले नगद ५० हजार प्राप्त गरेको छ ।
प्रतियोगिताको उपाधिका लागि भने साविक विजेता एपीएफ र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख प्राप्त गर्नेछन् ।
विधागत उत्कृष्ट हुने खेलाडी पनि नगदसहित सम्मानित हुने आयोजक बाँके जिल्ला भलिबल संघले जनाएको छ ।