काठमाडौं । छैटौं संस्करणको प्रधानमन्त्री महिला भलिबल प्रतियोगिताको फाइनल खेल आज (बुधबार) हुँदैछ ।
नेपालगञ्ज कर्भडहलमा हुने उपाधि भिडन्तमा साविक विजेता एपीएफ र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्ने छन् । फाइनल खेल दिउँसो २ बजे सुरु हुनेछ ।
दुवै टोली उपाधि जित्ने लक्ष्यसहित कोर्ट उत्रने छ । एपीएफ लगातार उपाधि जित्ने लक्ष्यमा हुनेछ । पुलिस भने एपीएफलाई हराउँदै पहिलो पटक उपाधि जित्छ चाहन्छ ।
प्रतियोगितामा दुवै टिम अपराजित रहँदै फाइनल पुगेका हुन् ।
सेमिफाइनलमा एपीएफले होङ्ग्वान्जी न्यु डाइमण्ड एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।
सेमिफाइनलमा आर्मीलाई ३–२ को सेटमा पराजित गर्दै पुलिसले एपीएफसँगको भेट पक्का गरेको हो ।
यस्तै प्रतियोगिताको तेस्रो स्थानका न्यु डाइमण्ड र आर्मीले खेल्नेछ ।
प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख र तृतीय हुने टिमले ५० हजार रुपैयाँ पाउनेछन् ।
यसैगरी, बिभिन्न विधामा उत्कृष्ट हुने खेलाडी पनि नगदसहित सम्मानित हुने आयोजकले जनाएको छ ।