काठमाडौं । नेपाल प्रहरी क्लब पाँचौं राष्ट्रव्यापी लोकेन्द्रबहादुर श्रेष्ठ स्मृति जुडो प्रतियोगितामा मंगलबार टिम च्याम्पियन बनेको छ ।
राजविराजमा भएको प्रतियोगितामा प्रहरीले ९ स्वर्ण, ३ रजत र २ कांस्य जित्यो ।
दोश्रो भएको नेपाल आर्मी क्लबले ५ स्वर्ण र ४ रजत हात पार्यो । तेश्रो स्थानमा चित्त बुझाएको बाँकेले २ रजत र उत्तिनै कांस्य प्राप्त गर्यो । शीर्ष तीन स्थानमा रहने टिमले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार हात पारे ।
प्रतियोगिताको पुरुषमा प्रहरीका उमेश मगर तथा महिलामा आर्मीकी सुमित्रा राई उत्कृष्ट खेलाडी घोषित भए । उमेशले ६० केजी तथा सुमित्राले ५२ केजीमा स्वर्ण जितेका थिए ।
विजेतालाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
तीनदिने प्रतियोगितामा विभिन्न २३ जिल्ला र तीन विभागीय टोलीका १ सय १६ खेलाडीले सहभागिता जनाएको जुडो संघले जनाएका छन् ।
६४ पुरुष र ५२ महिला खेलाडीले ७–७ गरी १४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।