काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लब छैंठौ संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।
नेपालगञ्जको कर्भडहलमा मंगलबार भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा हराउदैं पुलिस फाइनलमा प्रवेश गरेको हो ।
प्रतिस्पर्धात्मक बनेको खेलमा पहिलो सेट आर्मीले २५-२३ ले जितेको थियो । तर, दोस्रो सेट २५-२० र तेस्रो सेट २५-२१ ले जित्दै पुलिस खेलमा फर्किएको थियो ।
चौंथो सेट आर्मीले २५-१५ ले जित्दै खेल २-२ सेटको बराबरीमा ल्याए । त्यसपछि खेलको अन्तिम सेट १५-८ ले जित्दै पुलिसले फाइनलमा स्थान पक्का गर्यो ।
अब पुलिसले फाइनलमा एपीएफसँग खेल्नेछ । पहिलो सेमिफाइनलको होङ्ग्वान्जी न्यु डाईमण्ड एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफ फाइनल पुगिसकेको छ ।
फाइनल खेल बुधबार हुनेछ ।
यस्तै, तेस्रो स्थानका लागि होङ्ग्वान्जी न्यु डाईमण्ड एकेडेमी र आर्मीबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख र तृतीय हुने टिमले ५० हजार रुपैयाँ पाउनेछन् । यसैगरी, बिभिन्न विधागत उत्कृष्ट खेलाडी नगदसहित सम्मानित हुने आयोजक बाँके जिल्ला भलिबल संघले जनाएको छ ।