काठमाडौं । होङ्ग्वान्जी न्यु डाईमण्ड स्पोर्ट्स क्लबले छैंठौं संस्करणको प्रधानमन्त्री कप महिला भलिबलमा पहिलो जित निकालेको छ ।
नेपालगञ्ज कर्भडहलमा सोमबार आयोजक टिम प्रदेश ५ लाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यु डाईमण्डले पहिलो जित निकालेको हो ।
न्यु डाईमण्डले आयोजकमाथि २५–९, २५–१३ र २५–११ को सेटमा जित निकाल्यो ।
पहिलो खेलमा न्यु डाईमण्ड गत संस्करणको उपविजेता टिम नेपाल पुलिस क्लबसँग सोझो सेटमा पराजित भएको थियो ।
जितसँगै समूह बीको न्यु डाईमण्डले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
यस्तै, सोमबार बिहान तय भएको खेलमा भने एपीएफले भारतीय टिमबाट वाक ओभर पाएको छ ।
कोरोना भाइरसको संक्रमण बढेपछि दर्ता गराइएको नाम फिर्ता लिदै भारतीय टिम नआएपछि साविक विजेताले वाक ओभर पाएको हो ।
भारतीय टिमबाट वाक ओभर पाएसँगै यस समूह 'ए' बाट एपीएफ र त्रिभुवन आर्मी क्लबले सेमिफाइनलमा स्थान बनाएको छ।
एपीएफ समूह विजेता र आर्मी उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो ।
प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख र तृतीय हुने टिमले ५० हजार रुपैयाँ पाउनेछन् ।
यसैगरी, बिभिन्न विधागत उत्कृष्ट खेलाडी नगदसहित सम्मानित हुने आयोजक बाँके जिल्ला भलिबल संघले जनाएको छ ।