काठमाडौं । नेपाल पुलिस क्लबले छैंटौ संस्करणको प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबलमा विजयी सुरुवात गरेको छ ।
नेपालगञ्जको कर्भडहलमा आइतबार भएको दोस्रो खेलमा होङग्वान्जी न्यु डाईमण्ड एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले शानदार सुरुवात गरेको हो ।
मुख्य खेलाडी प्रतिभा माली बिना कोर्ट उत्रिएको न्यु डाईमण्डलाई पुलिसले २५–१८, २५–१६ र २५–७ को सेटमा हरायो । सुरुवाती सेटबाटै न्यु डाईमण्डमाथि दबदबा राखेको पुलिसले तीनै सेटमा सहज जित निकाल्यो ।
प्रतिभा आरबीबी कपको फाइनलमा खेलको दौरान घाईते भएकी थिईन् । घुँडाको उपचार गराएकी प्रतिभाले अब ३ महिना आराम गर्नु पर्नेछ ।
प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ पाउने छन् ।
यसैगरी, विधागततर्फ उत्कृष्ट हुने खेलाडीले पनि नगद पुरस्कार पाउने आयोजक बाँके जिल्ला भलिबल संघले जनाएको छ ।