काठमाडौं । एपीएफ क्लबले छैंटौ संस्करणको प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबलमा विजयी सुरुवात गरेको छ ।
नेपालगञ्जको कर्भडहलमा आइतबार भएको पहिलो खेलमा त्रिभुवन आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफले सुखद सुरुवात गरेको हो ।
मुख्य स्पाइकर सरस्वती चौधरी बिना कोर्ट उत्रिएको एपीएफले पहिलो सेट गुमाएपनि त्यसपछिका तीन सेटमा लगातार जित निकाल्न सफल भयो । सरस्वती चोटका कारण टिम बाहिर रहेकी छिन् ।
एपीएफले पहिलो सेट २३-२५ ले गुमाएको थियो । तर, त्यसपछिका सेट भने एपीएफले २७–२५, २५–१७ र २५–२३ को सेटमा आफ्नो बनायो।
जितसँगै समूह 'ए' एपीएफले ३ अंक जोडेको छ । र, सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । आर्मीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
बाँके जिल्ला भलिबल संघले आयोजना गरेको प्रतियोगितामा ६ टिमको सहभागिता रहेको छ । दुई समूहमा विभाजन गरिएको प्रतियोगिताको शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् ।
प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ पाउनेछन् ।
यसैगरी, व्यक्तिगत विधामा उत्कृष्ट बन्ने खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।